सुदूरपश्चिमका १६ हजार ३३८ जना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाइने

सुदूरपश्चिममा पहिलो चरणमा बुधबारदेखि कोरोना भाइरस विरुद्धको खोप सुरु हुँदै छ । सुदूरपश्चिम प्रदेशका लागि संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेटर भ्यानमार्फत् पठाएको खोप प्रदेशका विभिन्न जिल्ला पठाएको छ । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सम्बन्धित जिल्लामा पठाएको हो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त निर्देशक पदम विष्टले ३६ हजार डोज खोप प्रदेशमा पुगेको जानकारी दिए । पहिलो चरणमा १६ हजार ३३८ जनालाई खोप लगाउने उनले बताए । सुदूरपश्चिममा १० वटा खोप केन्द्रमार्फत् कोरोना विरुद्धको खोप लगाउने तयारी रहेको छ ।

प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बुधबारदेखि सुरु हुनेछ । अन्य पहाडी जिल्लामा बिहीबारबाट सुरु हुने प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

‘सुदूरपश्चिम प्रदेशमा ३५ हजार १७० खोपको मात्रा उपलब्ध भएको छ,’ सामाजिक मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्रसिंह कार्कीले भने । खोप लगाउन प्रदेशभर १० केन्द्र तोकिएको उनले बताए । कार्कीले कैलालीमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा खोप केन्द्र तोकिएको बताए । यस्तै, अरू आठ जिल्लाका जिल्ला अस्पतालबाट लक्षित वर्गलाई खोप दिइने उनले बताए ।

उक्त खोप अस्पतालमा सरसफाइ गर्ने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, शव वाहन चालक, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई पहिला लगाइने व्यवस्था गरिएको कार्कीले बताए । तर, यी लक्षित वर्गमध्ये स्तनपान गराउने महिला, गर्भवती, सुत्केरी र रगत बग्नेसम्बन्धी समस्या भएकाले भने प्रयोग नगर्ने कार्कीले बताए । 

प्रदेशमा सबैभन्दा बढी कैलालीमा स्वास्थ्यकर्मी रहेका छन् भने कम बाजुरामा रहेका छन् ।





  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १४:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया