हेटौंडामा ‘कोभिशिल्ड’ : बागमती प्रदेशमा ३५ खोप केन्द्रबाट सेवा दिने

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ आइपुगेको छ । बागमती  प्रदेशका करिब ६३ हजार जनालाई पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाइने तयारी भएको छ ।

पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयं सेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने तयारी भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक रमेश अधिकारीले जानकारी दिए ।

३५ केन्द्रबाट सेवा

बागमती प्रदेशका १३ जिल्लाका लागि ३५ केन्द्रबाट कोरोना भाइरसविरुद्धको खोप लगाइने तय भएको निर्देशक अधिकारीले जानकारी दिए । खोप लगाउने संख्याको आधारमा केन्द्रहरू तय भएका छन् । अधिकारीका अनुसार सबैभन्दा धेरै काठमाडौं जिल्लामा १२ वटा केन्द्रबाट खोप लगाइने भएको छ ।  करिब ४० हजार जनालाई काठमाडौंको १२ स्थानबाट खोप लगाउने तयारी भएको हो । पहिलो पटक लगाएको ४ सातापछि पुनः दोस्रो चरणको खोप लगाउनुपर्ने निर्देशक अधिकारीले बताए ।

बामगती प्रदेशको चितवन, ललितपुरमा ३–३ वटा केन्द्रबाट खोप लगाइने भएको छ । यस्तै, सिन्धुली, धादिङ, काभ्रे, नुवाकोट, रामेछाप, भक्तपुर, दोलखा जिल्लामा २–२ वटा केन्द्रबाट खोप लगाइनेछ भने मकवानपुर र रसुवा जिल्लामा एक–एक वटा केन्द्रबाट कोभिडविरुद्धको खोप लगाइने निर्देशक अधिकारीले बताए । उनले खोपको असर देखापरेमा तुरुन्त चिकित्सकको टोली उपलब्ध हुने स्थानमा मात्र खोप केन्द्र स्थापना गरिएको जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौं बाहेकका जिल्लाहरू रामेछापमा १ हजार ४१६, सिन्धुलीमा १ हजार ४८०, ललितपुरमा ७ हजार ८१२, रसुवामा ७ सय ५७, चितवनमा ३ हजार ७४१, काभ्रेमा ३ हजार ६३८, नुवाकोटमा २ हजार ४ सय, दोलखामा २ हजार १४२, भक्तपुरमा ३ हजार ८४५, सिन्धुपाल्चोकमा १ हजार ७७३, धादिङमा १ हजार ५०९, मकवानपुरमा २ हजार २८९ जनालाई पहिलो चरणको खोप दिइनेछ । 



कोरोना विरुद्धको भ्याक्सिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत हेटौंडा–१ मा रहेको प्रदेश आपूर्ति केन्द्रमा भ्याक्सिन भण्डारण गरिएको छ ।
संघीय सरकारले भारतको सहयोगमा ल्याएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन  ‘कोभिशिल्ड’ बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार आइपुगेको हो । बागमती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रको हेटौंडास्थित कार्यालयमा ७६ हजार डोज कोरोनाको खोप आइसकेको छ । 

बागमती प्रदेशको ३ जिल्ला तथा प्रदेश नम्बर २ का ६ जिल्लाका लागि कोरोनाविरुद्धको खोप आएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले  बताए । अधिकारीले बागमती प्रदेशको सिन्धुली, चितवन र मकवानपुरलाई प्रदेश आपूर्ति केन्द्रबाट खोप पठाइने र तराईका ६ जिल्लामा भण्डारणको व्यवस्था नहुँदा त्यसका लागि पनि खोप हेटौंडामा राखिएको बताए । बागमती प्रदेशका अन्य १० जिल्लाका लागि भने केन्द्रबाटै खोप जिल्ला–जिल्लामा पुर्‍याइएको अधिकारीले जनाए ।



खोप सुरक्षित तरिकाले राख्न नसकेमा बिग्रने भन्दै २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिएको बताए ।

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आइतबारबाट सातवटै प्रदेशमा पठाउन थालिएको  थियो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको  थियो । अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी (अमेरिका), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया), ‘स्पुतनिक–भी’ (रसिया) र अक्सफोर्ड अक्ट्राजेनिका (बेलायत) र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।

  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १७:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया