धनगढी उपमहानगरपालिका ५ हसनपुरकी तारा शर्मा हतार–हतार सेती प्रादेशिक अस्पताल पुगिन् । कोरोनाविरुद्धको खोप लगाउन उनले आफ्नो दर्ता नम्बर खोजिन् । मेरो कार्ड यहाँ छ भन्दै देखाउँदै दर्ता गर्न लगाइन् । १० महिना सम्मको कोरोनाको त्रासमा रहेकी उनलाई खोप लगाउन हतार थियो ।
चिकित्सक समेत खोप लगाउन हच्किरहेका बेला उनी खुसी देखिन्थिन् । कोरोना विरुद्धको अभियान सञ्चालन भइरहेका बेला स्वास्थ्यकर्मीमै अनेक प्रकारका भ्रममा थिए । जब सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले खोप लगाउन सुरु गरे अनि खोप लगाउनेहरूको घुइँचो लाग्यो । बुधबार खोप लगाउने हतार गर्ने अधिकांश स्वयंसेविका रहेका थिए ।
‘वडा, टोलमा हामीले खोप लगाउनुपर्ने हुन्छ’, धनगढी उपमहानगरपालिका–२ की स्वयंसेविका विनाकुमारी शर्माले भनिन्, ‘त्यसैले पनि हामीलाई हतार भएको हो । सुरुमै लगाउँछु भनेर आएकी थिएँ । तर, घरको कामले गर्दा केही ढिलो गरी आएँ । अलि पछाडि भएछु’, उनले जीवनमा धेरैका खोप लगाएको र आफूले पनि लगाएको हुँदा एक प्रतिशत पनि डर नभएको बताइन् । ‘वडा, टोलमा विभिन्न यस प्रकारका खोप अभियानमा धेरैका खोप लगाएको हो’, उनले भनिन् ।
धनगढी उपमहानगरपालिका १२ जगेडाकी स्वास्थ्य स्वयंसेविका नन्दी खड्का कोरोना महामारीका बेला पनि उनी गाउँमा क्वारेन्टाइन, आइसोलेसनमा खटिइन् । बुधबार कोरोना विरुद्धको खोप लगाउन उनी धनगढीको सेती अस्पताल पुगिन् ।
‘खोप लगाउन पाउँदा खुसी छु,’ उनले भनिन्, ‘खोप भनेको रोग लाग्न नदिनका लागि हो, त्यसैले लगाएँ’, उनले भनिन् । धनगढी उपमहानगरपालिका ८ कि मीना राना पनि स्वास्थ्य स्वयंसेविका हुन् । उनको पनि नन्दीको जस्तै काम हो । अस्पताल आउन नमान्ने राना समुदाय उनको कार्यक्षेत्र हो । उनी भन्छिन्, ‘खोप लगाएपछि अब कोरोना लाग्दैन भनेर ढुक्क भएकी छु ।’
संक्रमित बिरामीको उपचार तथा सेवामा खटिने चिकित्सक स्वास्थ्यकर्मीहरू सबैभन्दा धेरै संक्रमणको जोखिममा भएको हुँदा पहिलो चरणमा उनीहरू नै प्राथमिकतामा रहेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताए ।
‘संक्रमितलाई स्वास्थ्य संस्थासम्म पुर्याउने एम्बुलेन्स चालक र मृतक संक्रमितको शव व्यवस्थापनमा खटिएको टोली, शववाहन चालक पनि उत्तिकै जोखिममा रहन्छन् । यसै कारण पहिलो चरणको खोप अभियान उनीहरूप्रति लक्षित रहेको हो’, उनले भने ।
कोरोना विरुद्धको खोप लगाउने चर्चासँगै केही भ्रम पैदा भइरहेका छन् । खोपले स्वास्थ्यमा नकारात्मक असर पार्ने हो कि भनेर अनावश्यक हल्ला चलिरहेको उनको भनाइ छ । ‘खोप नआउँदा खोप किन आएन ? भन्दै सरकारसमक्ष प्रश्न उठाए’, पौडेलले भने, ‘अब खोप भित्रियो साइड इफेक्ट देखिए को जिम्मेवार भन्दै भ्रम छरिरहेका छन् ।’ उनले कुनै पनि खोप सयमा सय प्रतिशत काम गर्न नसक्ने बताए ।
स्वास्थ्य सेवाकै व्यक्तिहरूले पहिले खोप लगाउँदा खोपबारे नागरिकमा रहेका भ्रम चिर्न मद्दत पुग्ने उनी बताउँछन् । पहिलो चरणको खोप वितरण जिल्लाका ठूला अस्पतालहरूबाट गरिने भए पनि दोस्रो चरणको स्वास्थ्य चौकीबाटै गरिने तयारी रहेको उनले बताए । ‘खोपको सामान्य प्रभाव देखिन सक्छ ।’ तर, त्यसले स्वास्थ्यमा त्यति प्रभाव नपार्ने चिकित्सको भनाइ छ । प्रदेशमा सबैभन्दा बढी कैलालीमा स्वास्थ्यकर्मी रहेका छन् भने कम बाजुरामा रहेका छन् ।
सुदूरपश्चिमका १६ हजार २९३ जनाका लागि ३६ हजार डोज कोरोनाको भ्याक्सिन आएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना उपचारको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक, शववाहन चालक र कर्मचारी, खोप कार्यक्रममा खटिएका सुरक्षाकर्मी गरी १६ हजार २९३ जनाको लिस्ट केन्द्रमा पठाएबमोजिम खोप आएको हो ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दार्चुलाका लागि १ हजार २९१, बझाङका लागि १ हजार ४०९, कञ्चनपुरका लागि २ हजार ५९५, कैलालीका लागि ३ हजार ७३७, बैतडीका लागि १ हजार ९९६, अछामका लागि १ हजार ८७१, बाजुराका लागि ८९०, डडेल्धुराका लागि १ हजार १३५ र डोटीका लागि १ हजार ४५९ जनाका लागि पुग्ने खोप पठाइएको जनाएको छ ।
सुदूरपश्चिममा बुधबार १ हजार ६४ जनालाई कारोना विरुद्धको खोप लगाइएको छ। स्वास्थ्य कार्यालय सुदूरपश्चिम प्रदेशका अनुसार प्रदेशका ८ वटा जिल्लामा खोप लगाइएको हो।
त्यसमध्ये कञ्चनपुरमा १२४ जनालाई खोप लगाइएको छ। कैलालीमा २५२ जना, डडेल्धुरामा १२२ जना, बैतडीमा ७८ जना, दार्चुलामा ४२ जना, डोटीमा १५६ जना, अछाममा २३६ जना र बझाङमा ५४ जनालाई लगाइएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भ्याक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए।
सुदूरपश्चिमका ८ वटा जिल्लामा खोप लगाइए पनि बाजुरामा भने भोली बिहानबाट खोप लगाउन सुरु गरिने निर्देशनालयका भ्याक्टर कन्ट्रोल निरीक्षक जोशीले बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।