६ महिनामा साढे ६ खर्ब व्यापार घाटा, बढ्यो दैनिक उपभोग्य खाद्यान्नको आयात

चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो ६ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाख ८१ हजार पुगेको छ । चालु आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले विभिन्न मुलुकमा ६० अर्ब ७९ करोड ९२ लाख १४ हजार विभिन्न देशमा निर्यात गरेको छ । सोही अवधिमा नेपालले विभिन्न देशबाट ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख ९४ हजार बराबरको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा निर्यातमा केही सुधार हुँदा व्यापार घाटामा केही कमी आएको हो । तथ्यांकअनुसार समीक्षा अवधिमा ११ दशमलव ५० प्रतिशतले व्यापार घाटा कम भएको छ । 

गत वर्षको पहिलो ६ महिनामा नेपालले विभिन्न देशसँग गरेको व्यापारमा ६ खर्ब ७८ अर्ब ५२ करोड ५० लाख ६० हजार घाटा थियो । उक्त अवधिमा नेपालले ५७ अर्ब २७ करोड ९७ लाख ४८ हजार रुपैयाँको विभिन्न सामग्री निर्यात गरेको थियो भने ६ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख २२ हजार बराबरको आयात गरेको थियो ।

बढ्यो तरकारीमा परनिर्भरता

समीक्षा अवधिमा १९ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको तरकारी आयात भएको छ । तथ्यांकअनुसार पहिलो ६ महिनामा १९ अर्ब २२ करोड १९ लाख ९२ हजार बराबरको तरकारी नेपाल भित्रिँदा ३५ करोड ८७ लाख ९ हजार बराबरको तरकारी निर्यात भएको छ । 

कोरोना भाइरसका कारण युवाहरु गाउँ फर्किने र कृषिजन्य आयातमा केही कमी आउने भनिएकोमा चालु वर्षको ६ महिनामा गत वर्षभन्दा ३ अर्ब बढीको तरकारी आयात भएको छ । चालु वर्षको तरकारी निर्यातमा भने दोब्बरभन्दा बृद्धि भएको छ । चालु आवको पहिलो ६ महिनाको अवधिमा ९३ करोड ७० लाख २८ हजार रुपैयाँबराबरको तरकारी निर्यात भएको छ । 



चालु आवमा नेपालले अन्तरिक्षयान, वायुयान र पाटपुर्जाको आयात र निर्यात गरेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८८ करोड १२ हजार बराबरका त्यस्ता उपकरण नेपालले आयात गरेको छ भने २५ करोड १४ लाख २१ हजार बराबरको उपकरणहरु निर्यात गरेको तथ्यांकले देखाएको छ ।
चालु आवको पहिलो ६ महिनामा नेपालले भन्सार राजस्वबाट १ खर्ब ८७ अर्ब ६५ करोड ३९ लाख ५३ हजार आम्दानी गरेको छ । 

सरकारी नीतिले केही सुधार



चालु आर्थिक वर्ष २०७७\७८ को बजेटमार्फत सरकारले व्यापार घाटा कम गर्न उत्पादनमा गुणस्तर, आयातमा कडाइ र स्वदेशी उत्पादन निर्यातमा प्रवर्द्धनको नीति लिएको थियो ।

बजेटमा उल्लेख गरिएको थियो, ‘वैदेशिक व्यापारमा हाल देखिएको अवरोध चिर्दै विश्व बजारमा प्रतिस्पर्धी वस्तुको उत्पादन बढाई निकासी प्रवर्द्धन गर्ने, विलासी र स्वास्थ्य तथा वातावरणीय हिसाबले हानिकारक वस्तुको आयात रोक्ने तथा उच्च मूल्ययुक्त स्वदेशी वस्तु निर्यातमा कर सहुलियत तथा अनुदानको व्यवस्था गरिनेछ ।’ 
सोही अनुसार सहुलियत, अनुदान तथा आयातमा करबृद्धिका कारण व्यापार घाटामा केही कमी आएको अर्थ मन्त्रालयको दाबी छ 

चालु आर्थिक वर्षमा स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न विदेशबाट आयात हुने तरकारी र फलफूलमा लाग्ने कृषि सुधार शुल्कमा वृद्धि गरिएको छ । भारत तथा चीनलगायत मुलुकबाट नेपाल भित्रने सबैखाले हरियो तरकारी र फलफूलको शुल्क ४ प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षसम्म ५ प्रतिशत मात्रै लाग्ने उक्त शुल्क अब ९ प्रतिशत पु¥याइएको छ । तेस्रो मुलुकबाट आयात हुने आलुमा लाग्ने त्यस्तो शुल्क पनि १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ ।

सरकारले चिया, कफी, अर्ग्यानिक तरकारी, पिउने पानी तथा जडिबुटीलाई निकासी प्रवर्द्धन र नेपाली हस्तकला प्रचार–प्रसार र बजारीकरण तथा निकासी गर्दा कर सहुलियत तथा अनुदान समेत पाउने व्यवस्था गरिएको छ । 

तर, लामो समयदेखि व्यापार घाटामा रहेको नेपालले व्यापार नीतिमा सुधार ल्याउन नसक्दा उल्लेख्य सुधार भने हुन सकेको छैन । स्वदेशी वस्तुको लागत महँगो पर्नु, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा आयातको तुलनामा स्वदेशी वस्तुको निर्यात बढ्न नसकेको विज्ञहरु बताउँछन् ।

  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १३:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया