संवैधानिक इजलास : रमन श्रेष्ठले मागे ५ घण्टा, प्रधानन्यायाधीशले दिए १ घण्टा
समयलाई लिएर पटक पटक विवाद

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमक्ष अनौठो प्रस्ताव गरे। प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथिको बहसका लागि करिब ३ सय वकिलले वकालतनामा पेश गरेको अवस्थामा रमन एक्लैले बहसका लागि  ५ घण्टा समय मागे।

बहस गर्ने वकिलको ताँती रहेको अवस्थामा प्रधानन्यायाधीश जबराले यसअघि नै एकजनालाई आधा घण्टा समय तोकेका थिए। त्यो पनि पछिल्लो समय घटाएर १५ मिनेटमा झारिएको थियो।

यो अवस्थामा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले आफू एक्लैलाई बहसका लागि पाँच घण्टा समय मागेका थिए। अधिवक्ता रामनारायण बिडारीपछि बहसमा सहभागी हुने क्रममा उनले आफूलाई पाँच घण्टा समय दिएमा कुनै पनि कुरा नहोहोर्‍याई व्याख्या गर्ने तर्क गरेका थिए।

तर प्रधानन्यायाधीश जबराले उनलाई पाँच घण्टा दिन नसकिने भन्दै एक घण्टामा सबै कुरा समेटेर राख्न निर्देशन दिए। दुईजनाबीच समयलाई लिएर १५ मिनेटसम्म गलफती नै भयो। इजलास नै रोकिने गरी गलफती चलेपछि प्रधानन्यायाधीशले एक घण्टा समय दिएर अहिले वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस गरिरहेका छन्। 

यस्तो छ सवाल जवाफ 

प्रधानन्यायाधीश : कति समय लिनु हुन्छ?
रमन श्रेष्ठ : ५ घण्टा श्रीमान् !
प्रन्या : त्यत्रो समय कसरी दिन सकिन्छ?
रमन श्रेष्ठ : रिपिट गर्दिनँ श्रीमान्, रिपिट भए छ भने भने रोक्नुस्।
प्रन्या : कसरी रोक्नु ? समयमा सक्नुस् !
श्रेष्ठ : हामी (देव गुरुङका वकिल) बीच सल्लाह भइसकेको छ श्रीमान्।
प्रन्या : तपाईंको सल्लाहले कुनै अर्थ राख्दैन। इजलासले समय दिन सक्दैन त्यत्रो।



करिब १५ मिनेटसम्म बहसमा चाहिने समयलाई लिएर इजलासमा बार र बेन्चबीच वादविवाद चलिरह्यो। अन्त्यमा इजलासले श्रेष्ठलाई एक घण्टाभित्र बहस सक्न निर्देशन दिएपछि अहिले सुनुवाइ निरन्तर अघि बढेको छ।

फेरि विवाद 



एक घण्टा बहस गरिसकेपछि वरिष्ठ अधिवक्ता श्रेष्ठले अझै समय मागेका छन्। उनले अझै मूल विषयमा छिरिनसकेको भन्दै बेन्चसँग थप समय मागेका हुन्। 

'अझै समय चाहिन्छ श्रीमान्। म त मूल विषयमा छिरेकै छैन', उनी भन्दैछन्। उता प्रधानन्यायाधीश जबराले भने अब समय दिनै नसकिने बताए। 

'हुँदैन हुँदैन', जबरा भनिरहेका छन्। उता रमनले भने, 'अनि श्रीमान् मैले दोहोर्‍याएको छु र?', फेरि प्रधानन्यायाधीश भन्छन्, : त्यसो होइन, तपाईँलाई समय दिएपछि सबैलाई दिनु पर्छ। दुई बजेसम्म सक्काउनु होस्!'

  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार १३:४८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया