कोरोना खोपः कर्णालीमा ४ दिनमा साढे ४ हजारले लगाए, २६ जनामा सामान्य समस्या

पछिल्ला ४ दिनमा कर्णालीमा झण्डै साढे ४ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । माघ १४ गतेबाट लगाउन सुरु गरिएको खोप प्रदेशका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वयंसेविका गरी ४ हजार ४ सय १९ जना फ्रन्टलाइनरले लगाएका हुन् । खोप लगायकामध्ये हाल सम्म २६ जनामा सामान्य समस्या देखिएको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 

यसअघि प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालगायत विभिन्न अस्पतालबाट गरी १२ ठाउँबाट खोप लगाउन सुरु गरिएको थियो । तर, शनिबारसम्म त्यो संख्या बढाउँदै २० पुर्याइएको छ । जिल्लामा रहेका अस्पतालसँगै अन्य स्वास्थ्यकेन्द्रबाट खोप लगाउन थालिएको हो । जसअन्तर्गत शनिबार १ हजार २ सय ८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
 
शनिबार दैलेखका २ सय ८५, सुर्खेतका १ सय ५९, रुकुम पश्चिमका १ सय ५८, जुम्लामा २ सय ६७, जाजरकोटका १ सय २९, सल्यानका २ सय ८० र डोल्पामा १० जनाले खोप लगाएका हुन् । शनिबार कालिकोट, हुम्ला र मुगुका कुनै पनि स्वास्थ्य संस्थाबाट खोप लगाइएको छैन । 

शनिबार खोप लगाएकामध्ये सबैको अवस्था सामान्य रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । ‘शनिबार खोप लगाएका कसैलाई केही समस्या देखिएको छैन,’ डा. खड्काले भने, ‘यसअघिका ३ दिनमा केही व्यक्तिलाई सामान्य समस्या देखिएको थियो । तर, अहिले सबैको अवस्था एकदमै राम्रो छ ।’

कर्णालीमा पहिलो चरणमा ११ हजार ७ सय ८० डोज कोरोनाविरुद्धको खोप लगाइनेछ । जसमा सुर्खेतमा सबभन्दा बढी अर्थात् दुई हजार ७८१, दैलेखमा दुई हजार, जुम्लामा एक हजार ७०२, कालिकोटमा एक हजार २१, जाजरकोटमा एक हजार १०५, सल्यानमा एक हजार १२३, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिममा ५०० र हुम्लामा ४५० डोज खोप बाँडफाँड छ । 





  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार २०:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया