रित्तो हात र खाली खुट्टाले भविष्य खोज्दै गन्धर्व बालबालिका
‘आङमा न्यानो लुगा छैन कसरी विद्यालय पठाउनु ?’

घोराही ११ नयाँ बस्तीकी प्रिया गन्धर्व अहिले चार वर्ष पुगिन् । उनी गाउँकै बालकल्याण प्राथमिक विद्यालयको कक्षा १ मा पढ्छिन् । प्रिया दिनहुँ विद्यालय त जान्छिन्, तर उनको हातमा न किताब हुन्छ, न कापी । प्लास्टिकको रित्तो लिफा बोकी उनी विद्यालय पुग्छिन् । उनका खुट्टामा न चप्पल छन्, न आङमा न्यानो लुगा । तैपनि पढ्ने रहरले रित्तो हातमा खाली खुट्टाले उनलाई विद्यालय दौडाइरहेको छ ।

किताब कापीबिना नै विद्यालय जाने प्रियाका लागि खुट्टामा चप्पल र शरीरमा न्यानो लुगा सपना जस्तै लाग्छ । उनले भनिन्, ‘मम्मीले पैसा पठाइदिए झोला र किताब किन्ने भन्नुहुन्छ हजुरआमाले । मम्मी अस्ति इन्डिया जानुभा’हो । बाबा खै कहाँ हुनुहुन्छ थाहा छैन । म मामा घर हजुरआमासँग बस्छु ।’ गरिबीले प्रियाकी आमालाई भारत पुर्‍यायो । 

आमाले पैसा कमाएर पठाएपछि झोलामा किताब कापी बोकी पढ्न जाने रहर प्रियाको छ ।

प्रियाकी साथी सरु गन्धर्व पनि रित्तै विद्यालय पुग्छिन् । सरुका बाबुआमा छन् । तर, बाबुआमाको स्थिति अति नाजुक छ । जनता आवासले बास फेरिदिएको छ ।

गाँसका लागि अझै सारङ्गीको घुमन्ते जीवन बिताइरहेका छन् । दुई छाकका लागि बाबुआमा कहिले कुन गाउँ कहिले कुन गाउँ गर्दै हिँड्छन् । सरु भने पढ्नलेख्न खाई नखाई रित्तै हात, खाली खुट्टा विद्यालय धाइरहेकी छन् । यो वर्ष कोरोना महामारीले गन्धर्व बस्ती अझ थला पार्‍यो ।

कोरोनाका कारण न कतै मजदुरी मिल्यो, न माग्न गाउँमा जान पाए । सरु भन्छिन्, ‘बाआमा गाउँ गा’छन्, म फुपूको घरमा भात खाएर स्कुल आएँ । बाआमा कापी कलम किन्ने पैसा लिएर आउँछन् रे, मसँग कापी पनि छैन, कलम पनि छैन । बा कापी कलम किन्ने पैसा लिन गा’छन् ।’



यो पीडा प्रिया र सरुको मात्रै होइन घोराही ११ नयाँबस्ती अर्थात् गन्धर्व बस्तीका अधिकांश बालबालिकाहरूको पीडा हो । 

इँटा भट्टाको मजदुरीका भरमा बाँचेको नयाँबस्तीको नाम फेरिए पनि पीडा फेरिन सकेको छैन । जसका कारण नयाँबस्तीलाई पुरानै पीडाले थिचिरहेको छ । आर्थिक अभाव र विपन्नताका कारण गन्दर्भ समुदायका बालबालिका रित्तो हात विद्यालय आउनुपर्ने बाध्यता रहेको विद्यालयकी शिक्षक लक्ष्मी गन्धर्वको बताइन् । 



गन्धर्व बस्तीका स्थानीय भट्टाको मजुदरीमै जीवन धान्ने भएकाले समुदायका बालबालिकाहरूले शिक्षादेखि वञ्चित हुनु परिरहेको उनको भनाइ छ । ‘अधिकांश कापी किताब बिना नै स्कुल आउँछन् । दुईचार कक्षा पढ्छन् र बीचमै छोड्छन् । यो गाउँकै बाध्यता हो ।’ 

गन्धर्व समुदायका बालबालिकाको शिक्षाका लागि सरकारले समुदायलाई रोजगारमुखी क्रियाकलापसँग जोड्न सके पुरानो पुस्ता जस्तो शिक्षाको उज्यालोबाट नयाँ पुस्ता वञ्चित हुनु नपर्ने उनको विश्वास छ ।

‘गरिबीले पढ्न दिँदैन’

बस्ती पुरानो हो तर नाम नयाँ बस्ती राखिएको छ । यहाँ ७० घरपरिवार गन्दर्भ जातिको बसोबास छ । बस्तीको बास जनता आवासले फेरिदिएको छ । गाँसको संकट भने अझै उस्तै छ । गरिबीका कारण यहाँका बासिन्दा काठमाडौंका इँटाभट्टामा पुग्छन् । हिउँद लागे भट्टा र बर्खा लागे घर फर्किने यहाँको परम्परा नै बनिसकेको छ । जसका कारण विद्यालय जाने उमेरका बालबालिका शिक्षाबाट वञ्चित छन् ।

विद्यालयकी निमित्त प्रधानाध्यापक कमला वलीले भनिन्, ‘यो साल ७४ जना विद्यार्थी भर्ना छन् । तर, विद्यालय ४०/४५ जना मात्रै आउँछन् ।’ जसको मुख्य कारण नै बेरोजगारी रहेको उनको भनाइ छ । 

केहीका बाबुआमा इँटा भट्टामा काम गर्न जाँदा छोराछोरी पनि सँगै जान्छन् । सँगै लैजान नमिले आफन्तीका घरमा छोडी उनीहरू बाटो तताउँछन् । गरिबीकै कारण सानैमा पढाइ छोड्दै देशका विभिन्न कुनाका श्रम बजारमा आफूलाई बेच्नुपर्ने बाध्यतामा यहाँका बासिन्दा रहेको उनले बताइन् । उनी भन्छिन्, ‘नयाँ बस्तीको यो पुरानै रोग हो ।’ 

नयाँ बस्तीको पुरानै पीडा 

नयाँ बस्ती टाढाबाट हेर्दा निकै सुन्दर देखिन्छ । तर, वस्तीभित्रको पीडा भने अझै उस्तै छ । स्थानीय चित्रबहादुर गन्धर्वले भने, ‘दिएको खाने र दिएको लगाउने नयाँ बस्तीको पीडा पुरानै हो ।’ बास राज्यले फेरिदिए पनि गाँसका लागि ६ महिना घर, ६ महिना बाहिर बस्नुपर्ने बाध्यता हामीसँग जस्ताको त्यस्तै छ । केही आयमुलक काम वा गन्धर्वहरूको पेसालाई व्यवसायसँग जोड्न राज्यले पहल गरिदिए छोराछोरी पनि शिक्षक र हाकिम बन्न सक्ने उनको आशा छ ।

  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १५:२८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया