संवैधानिक निकायमा सार्वजनिक सुनुवाइविना पदाधिकारी नियुक्तिको विरोधमा नेकपा दाहाल नेपाल समूहले बिहीबारका लागि आम हड्तालको घोषणा गरेपछि गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै त्यसको अवज्ञा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
मन्त्रालयले दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने पनि जानकारी गराएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै बिहीबार निर्धक्क र पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ– दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववत् रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय आग्रह गर्दछ ।
आन्दोलनका क्रममा अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।