प्रचण्डलाई बादलको चेतावनी : मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर थुन्छौँ

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले अब नेपालमा कुनै पनि किसिमका हिंसात्मक आन्दोलन हुन नसक्ने बताएका छन्। नेकपा ओली समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि गरेको जनसभालाई शुक्रबार सम्बोधन गर्दै यस्तो बताएका हुन्।

ओली समूहका प्रभावशाली नेता समेत रहेका बादलले सम्बोधनको सुरुमै नारायणहिटी दरबार सङ्ग्रहालयको प्राङ्गणमा जनसभा भनेका थिए। बादलले सम्बोधनका क्रममा अब देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताए।

'राजनीतिक सत्ता महत्वपूर्ण कुरा हो। देशको राजनीतिक सत्तालाई अनेक जालझेल गरेर हटाउन खोजिएपछि प्रतिरोध गर्नुपरेको हो', बादलले भने, 'अब देशमा तेस्रो जनआन्दोलन सुरु भएको छ। अब यो आन्दोलन चुनावसम्म पुग्नेछ।'

प्रचण्डलाई चेतावनी 

बादलले सम्बोधनका क्रममा पुष्पकमल दाहाल प्रचण्डको नाम नलिइ यदि मांसाहारी आन्दोलन (हिंसात्मक) गर्न खोजिए नछाडिने चेतावनी दिए। मांसाहारी आन्दोलनबाट नेतृत्वलाई अपदस्थ गर्ने सपना नदेख्न पनि बादलले प्रचण्डलाई चेतावनी दिए। 
 
'मांसाहारी तरिकाबाट नेतृत्वलाई अपदस्थ गरिने छ भन्दैछन्', प्रचण्डतिर लक्षित गर्दै बादलले भने, 'मांसाहारी आन्दोलन गर्नेहरुलाई हाम्रो संविधान र कानुनबाट अपराध घोषित गरिनेछ। मांसाहारी आन्दोलन गर्नेहरुलाई हामी जावलाखेलको जु (चिडियाखाना)मा लगेर थुन्ने छौँ।'

उनले प्रचण्डतर्फ लक्षित गर्दै मांसाहारी आन्दोलन गर्नेहरु सचेत रहन पनि चेतावनी दिए। सम्बोधनको अन्त्यमा पनि बादलले प्रचण्डप्रति चेतावनीयुक्त शैलीमा यदि हिंसात्मक बाटो रोज्न खोजिए नछाडिने चेतावनी दिए। 





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १३:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया