हेटौंडामा सम्पन्न भिडोल विजय युथ हेटौंडा गोल्डकपको उपाधि आयोजक विजय युथ क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा चितवनको सेन्ट्रल कलेज बिएफसी भरतपुरलाई २–१ ले स्तब्ध पार्दै विजय युथले उपाधि चुमेको हो ।
प्रतिस्पर्धात्मक फाइनलमा बिएफसीका रन्जित आले मगरले ५७ औं मिनेटमा गोल गरेर अग्रता दिलाए पनि ६० औं मिनेटमा विजय युथका सन्त गुरुङले बराबरी गोल गरे । यस्तै ६६ औं मिनेटमा बिएफसीका खेलाडीले डी बक्सभित्र ह्यान्ड गर्दा विजय युथले पाएको पेनाल्टीमा रुपेश केसीले गरेको गोल नै आयोजकका लागि उपाधि जित्न पर्याप्त बन्यो ।
प्रतियोगिताको उपाधि विजेता विजय युथले नगद ३ लाख रुपैयाँ र उपविजेतामा चित्त बुझाएको बिएफसीले १ लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक विजय युथका अशोक बराल घोषित भए । वेस्ट डिफेन्डरमा विजय युथकै सुरज विष्ट, वेस्ट मिडफिल्डरमा सोही टिमका विश्व अधिकारी, उच्च गोलकर्तामा उपविजेता बिएफसीबाट खेलेका विदेशी खेलाडी जोन क्लोरी, वेस्ट फरवार्डमा विजय युथका विमल राना र वेस्ट कोचमा विजय युथकै सुविन घिमिरे घोषित भएका छन् ।
विधागत उत्कृष्ट हुनेहरूले नगद ७ हजार ५ सयसहित मेडल र प्रमाण पत्र पाएका छन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा विजय युथका फरवार्ड रुपेश केसीले १५ हजार नगदसहित मेडल र प्रमाण पत्र पाए ।
विजय युथ क्बल हेटौंडाले पहिलोपटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता १६ माघबाट सुरु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।