बागमतीमा कोरोना खोप : ३ सयभन्दा बढीलाई असर, २ जना गम्भीर

बागमती प्रदेशमा कोरोना भाइरसविरुद्ध खोप लगाएकामध्ये २ जनामा गम्भीर असर देखिएको छ । शुक्रबारसम्म बागमती प्रदेशका ५५ हजारभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएकोमा करिब ३ सय ४० मा खोपको सामान्य असर देखापरेको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक रमेश अधिकारीले जानकारी दिए ।

निर्देशक अधिकारीले आफूलाई खोप लगाउँदा सामान्य दुखेको र लगाएको स्थानमा त्यस समय रातो भएको बताए । उनले खोप लगाएको १ घण्टापछि सामान्य जिउ दुखेको महसुस भएको तथा २ रात ज्वरो आएपछि ठीक भएको आफ्नै अनुभव सुनाए । खोपको असर केही समय रहने भन्दै उनले पछि आफैँ हटेर जाने बताए ।

यसअघि पनि विभिन्न खोप लगाइसकेको र खोपको नकारात्मक असर नभएको भन्दै उनले आफूसहित बागमती प्रदेशमा ३ सय ३४ जनामा सामान्य असर देखिएको बताए । खोप लगाएकामध्ये २ जनालाई भने अस्पताल भर्ना हुनुपर्ने अवस्था आएको निर्देशक अधिकारीले बताए । 

बिस्तारै हराउँछ डर 

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशासक शम्भु काफ्लेले कोरोना भाइरसविरुद्धको खोप सर्वप्रथम स्वास्थ्य क्षेत्रमा काम गरेका व्यक्तिलाई लगाइएका कारण समस्या नआएको बताए । 

सुरुमा खोप लगाउँदा आफूलाई पनि डर लागेको र खोप लगाएको भोलिपल्टदेखि २ दिनसम्म दुखेको उनले बताए । यसअतिरिक्त कुनै पनि प्रतिक्रिया नदेखिएको उनको भनाइ छ । 
 
आगामी दिनमा खोप लगाउँदा त्यसबारे परामर्श गर्न सम्पर्क नम्बर दिइएको उनले बताए । खोपलाई सामान्य रुपमा लिँदा यसबारे डर हट्ने भन्दै उनले खोप लगाएपछि सामान्य असर देखिनु नौलो नभएको तर्क गरे ।  



कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी वसन्त चालिसेले आफूलाई खासै असर देखा नपरेको बताए । खोप लगाएको समयमा केही नभए पनि राति शरीर चिसो भएको महसुस भएको उनले जानकारी दिए । 



  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार १९:११:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया