बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शवको पोस्टमार्टम गरिएको छ । बिहीबार साँझ मृत फेला परेकी भट्टको शनिबार पोस्टमार्टम गरिएको हो ।
भट्टको शव शुक्रबार बेलुका जिल्ला अस्पताल पुर्याइएको थियो । पोस्टमार्टमको रिपोर्ट आउन भने बाँकी रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । पोस्टमार्टम रिपोर्टपछि भागरथी हत्या प्रकरणको विषयमा थप जानकारी प्राप्त हुनेछ ।
किशोरीको बलात्कारपछि हत्या गरिएको स्थानीयको आशंका छ । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको देखिएको मृतकका आफन्त शिवराज भट्टले बताए ।
भट्टको हत्या भएको तीन दिन बितिसक्दा त्यसमा संलग्नको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।
यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत घटनाको विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
उनले भने, ‘अहिले हामीले शंकास्पद व्यक्तिलाई सोधपुछ गरिरहेका छौँ । हाम्रो प्राविधिक टोली अनुसन्धानमै खटिएको छ । हत्यामा संलग्नलाई कानुनी कारबाही गर्ने मेरो प्रतिबद्धता छ ।’
भागरथीको हत्या नै भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा देखिए पनि हत्याको कारण भने खुल्न नसकेको जनाइएको छ । ‘हामी किशोरीको बलात्कारपछि हत्या भएको हो वा अन्य कुनै कारणले हो भन्ने विषयमा निष्कर्षमा पुगिसकेका छैनौँ । पोस्टमार्टम रिपोर्टपछि त्यो कुरा थाहा हुन्छ,’ प्रहरी नायव उपरीक्षक अधिकारीले भने, ‘डेथ अफ कज’का विषयमा हामीले अनुसन्धान गरिरहेका छौँ । यो घटनाका अभियुक्तलाई पत्ता लगाइछाड्छौँ ।’
शोकमा डुब्यो चडेपानी गाउँ
गाउँकी किशोरीको शंकास्पद मृत्युपछि चडेपानी गाउँ शोकमा डुबेको छ । गाउँकी १७ वर्षीया किशोरीको हत्या भएपछि गाउँ शोकमग्न भएको छ । स्थानीय सनातन धर्म मावि श्रीकोटमा कक्षा १२ मा अध्ययनरत भागरथी भट्टको घरनजिकैको लबलेक सामुदायिक वनमा हत्या गरिएको अवस्थामा शव फेला परेपछि गाउँ नै शोकमग्न भएको स्थानीय शंकरदत्त भट्टले बताए ।
उनले भने, ‘यस्तो घटना अहिलेसम्म भएको थिएन । अप्रत्याशीत घटनापछि गाउँ पूरै त्रसित बनेको छ ।’ गाउँकी छोरीको हत्या भएपछि गाउँले अहिले शोकमग्न भएका मृतकका काका शिवराज भट्टले बताए । छोरीहरुलाई विद्यालय पठाउनसमेत मुस्किल भएको उनको भनाइ छ । उनले भने, ‘विद्यालय पुग्न हिँडेर ४५ मिनेटजति लाग्छ । बीचमा जंगल पर्छ । यो घटनापछि छोरीहरुलाई स्कुल कसरी पठाउने भन्ने चिन्ताले सताएको छ ।’
मृतक किशोरीका बुबाको दुई महिनाअघि मात्रै मृत्यु भएको थियो । अहिले घरमा आमा र छोरी मात्रै थिए । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका छन् । काखको छोरी गुमाउँदा मृतककी आमा द्रोपती भट्टका आँखा ओभाएका छैनन् । श्रीमान् बितेको पीडामै रहेकी द्रोपतीलाई सन्तान गुमाउँदाको पीडाले झन् थिचेको छ ।
दोषीलाई कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन
भट्टको हत्याको विरोधमा दुई दिनदेखि बैतडीमा स्थानीय र विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् । भागरथीका हत्यारालाई पत्ता लगाएर कडा कानुनी कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले शुक्रबार र शनिबार दिनभर खोचेलेक, सिल्लेगडाकलगायत ठाउँका सडकमा चक्काजाम गरेका थिए । भागरथी भट्टको बलात्कारपछि हत्या भएकाले हत्यारा पत्ता लगाई दोषीमाथि कारबाही गर्न दबाब दिने उद्देश्यले आफूहरुले आन्दोलन गरेको स्थानीय युवा भुवन कार्कीले बताए ।
उनले भने, ‘दोषी पत्ता नलगाउँदासम्म हाम्रो आन्दोलन जारी रहनेछ । दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने हाम्रो माग छ ।’ प्रदर्शनकारीले प्लेकार्डमा भागरथीको फोटो राखेर न्यायको माग गरेका छन् । आन्दोलनकारीले भागरथी भट्टलाई न्याय दिनुपर्ने भन्दै आइतबारदेखि तीनदिने शैक्षिक हड्तालसमेत घोषणा गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।