कर्णालीमा ९ हजारभन्दा बढीले लगाए कोरोना खोप
दोस्रो चरणको तयारी तीव्र

कर्णाली प्रदेशमा पहिलो चरणमा ९ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । माघ १४ गतेबाट लगाउन सुरु गरिएको खोप प्रदेशका १० वटै जिल्लामा रहेका ९ हजार ४ सय २० जना फ्रन्टलाइनरलाई लगाइएको हो । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा र सबैभन्दा कम डोल्पामा लगाइएको छ । सुर्खेतमा २ हजार ३ सय ४० जनाले खोप लगाएका छन् भने दैलेखमा १ हजार ४ सय ८३ जनाले खोप लगाएका छन् ।  

त्यसैगरी, जुम्लाका १ हजार ४०, सल्यानका १ हजार २, रुकुम पश्चिमका ८ सय ५०, कालिकोटका ८ सय, जाजरकोटका ६ सय ७३, हुम्लाका ४ सय ८५, मुगुका ४ सय १७ र डोल्पाका ३ सय ३० जनाले कोरोना खोप लगाएका छन् । 

कोभिसिल्ड लगाएकामध्ये १ जनामा गम्भीर खालको समस्या देखिएको थियो भने ३२ जनामा सामान्य स्वास्थ्य समस्या देखिएको थियो । हाल भने सबैको अवस्था सामान्य रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 

पहिलो चरणमा ८२ दशमलव ३९ प्रतिशत मानिसमा खोप लगाउन सफल भएको निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए । भारत सरकारबाट अनुदानमा उपलब्ध १० लाख डोज ‘कोभिसिल्ड’ खोप कर्णालीमा पहिलो चरणमा ११ हजार ७ सय ८१ जनामा लगाउने तयारी गरिए पनि झण्डै २ हजार कम मानिसमा खोप लगाइएको छ । 

पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइमा संलग्न कर्मचारी, वृद्धाश्रममा रहेका तथा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई दिइएको छ । 

पहिलो चरणमा तोकिएका सम्पूर्ण मानिसलाई खोप लगाउने तयारी गरे पनि केही महिला स्वयंसेविका र स्वास्थ्यकर्मी छुटेको डा. खड्काले बताए । खोप लगाउने क्रममा आफ्नो क्षेत्रभन्दा बाहिर गएका, अन्य स्वास्थ्य समस्या भएका, गर्भवतीलगायत स्वास्थ्यकर्मी खोप लगाउनबाट छुटेको उनको भनाइ छ । उनीहरुलाई दोस्रो चरणमा समेटिने बताइएको छ ।  



दोस्रो चरणको तयारी

पहिलो चरणको खोप सम्पन्न भएपछि कर्णालीमा पनि कोरोनाविरुद्ध दोस्रो चरणको खोप लगाउने तयारी गरिएको छ । दोस्रो चरणका लागि तथ्यांक संकलन गर्ने काम भइरहेको निमित्त निर्देशक डा. खड्काले बताए । ‘दोस्रो चरणमा यतिजनालाई लगाउने भनेर हामीले तथ्यांक बनाएर केन्द्र सरकारलाई पठाउँदै छौँ,’ निमित्त निर्देशक डा. खड्काले भने, ‘पहिलो चरणको पनि केही खोप बचेको छ । विवरण पठाएपछि सोहीअनुसार दोस्रो चरणको खोप आउनेछ ।’



कोरोनाको अन्त्य गर्न खोप अनिवार्य

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि खोप अनिवार्य लगाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. प्रदीप न्यौपानेले कोरोना अन्त्यका लागि खोप अनिवार्य भएको बताएका छन् । 

हाल नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड लगाएर आजसम्म कसैको पनि मृत्यु नभएको भन्दै उनले केहीलाई सामान्य स्वास्थ्य समस्या देखिनु सामान्य भएको बताए । ‘खोपलाई सबैले स्विकार्नुपर्छ,’ डा. न्यौपानेले भने, ‘यो खोप लगाएका २० देखि २५ प्रतिशत मानिसमा सामान्य समस्या देखिने गरेको छ । तर, त्यो एकदमै सामान्य समस्या हो । त्यसबाट डराउनुपर्ने अवस्था छैन ।’ 

  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १७:५१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया