भागरथी हत्या प्रकरण : निरन्तर प्रदर्शन, अनुसन्धानको उलपब्धि शून्य

बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि सडकमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ । घटना भएको ६ दिन बितिसक्दा पनि प्रहरीले घटनाका दोषीबारे कुनै चाल पाएको छैन ।

बैतडीलगायत सुदूरपश्चिमका सबै जिल्लामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ । प्रदेशको अस्थायी मुकाम धनगढीमा समेत दैनिक रुपमा विरोध प्रदर्शन भई नै रहेको छ । हत्यारालाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन माग गर्दै सुदूरपश्चिमाञ्चल क्याम्पसका विद्यार्थीले मुख्यमन्त्री कार्यालयअगाडि नै प्रदर्शन गरेका छन् । नगर बाल सञ्जाल धनगढीले पनि दैनिकजसो प्रदर्शन गरिरहेको छ । 

प्रदर्शनमा बैतडी जिल्लाका सबै विद्यालयका विद्यार्थी र शिक्षक सहभागी छन् । ‘यस घटनाले विद्यार्थी त्रसित छन्,’ बैतडी मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशवदत्त भट्टले भने, ‘विद्यालय खोल्ने वातावरण छैन । पाँच दिनदेखि बन्द छन् ।’ 

भागरथीको न्यायका लागि भन्दै युवा अभियन्ता निशा भट्टको संयोजकत्वमा गठित संघर्ष समितिले भागरथीको हत्यारा पत्ता नलागेसम्म विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।

अनुसन्धानको परिणाम शून्य



घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफैँ घटनास्थलमा खटिएका छन् । तर, प्रहरीले हालसम्मको अनुसन्धानबाट सन्तोषजनक परिणाम भने हात पार्न सकेको छैन । अनुसन्धानमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ । प्रहरीले आशंका गरेझैँ बलात्कारपछि भागरथीको हत्या गरिएको कुरा शव परीक्षण रिर्पोटले पनि पुष्टि गरिसकेको छ । प्रहरीले अनुसन्धानको दायरा साघँुरिएको दाबी गरे पनि परिणाम शून्य देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले घटना अनुसन्धानका क्रममा नै रहेको बताए । ‘शंकास्पद व्यक्तिमाथि सोधपुछ गरेका छौँ’ उनले भने, ‘परिणामका बारेमा अहिले केही भन्न सक्ने अवस्था छैन ।’ अनुसन्धान सकारात्मक रुपले अघि बढेकाले छिट्टै परिणाम आउने उनले दाबी गरे । यद्यपि, कसैलाई पक्राउ गरिसकेको अवस्था नरहेको उनले बताए । हालसम्म कतिजनालाई सोधपुछ गरिएको छ भन्नेबारे भने प्रहरी नायव उपरीक्षक अधिकारीले खुलाउन चाहेनन् ।



घटनास्थलबाट संकलन गरिएका सबुत प्रमाण परीक्षणका लागि काठमाडौंस्थित नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइसकेकाले त्यसले पनि अनुसन्धानमा सघाउने विश्वास प्रहरीको छ । भागरथीको हत्यापछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डे र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको छुट्टाछुट्टै टोली शुक्रबारदेखि बैतडीमै छ । 

शव नउठाउने आफन्तको अडान

बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टका आफन्तले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन् । घटनाको ६ दिन बित्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै मृतकका आफन्तजनले शव बुझ्न अस्वीकार गरेका छन् । मृतक भट्टका काका शिवराज भट्टले हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने बताए । मृतक भागरथीको शव बैतडी अस्पतालको शवगृहमा राखिएको छ ।

सनातन माध्यामिक विद्यालयमा कक्षा १२मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । बुधबार विद्यालय गएकी भागरथीको बिहीबार साँझ गाउँनजिकको वनमा शव फेला परेको थियो । 

मुख्यमन्त्रीलाई ज्ञापनपत्र

भागरथी भट्टको हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको छ । मंगलबार महिला अधिकारकर्मीले भागरथीको घटनाप्रति मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले बैतडीमा घटेका पछिल्ला घटनामा प्रदेश सरकार गम्भीर रहेको बताए ।

प्रदेशअन्तर्गतका जिल्ला प्रशासन र सुरक्षा निकाय प्रदेश सरकारमातहत आइनसकेकाले शान्ति सुरक्षासम्बन्धी कार्य सम्पादनमा केही अप्ठ्यारो भए पनि प्रदेश सरकार सबैसँगको समन्वयमा अपराध नियन्त्रणमा लागिपर्ने बताए । पीडित परिवारलाई के–कस्तो राहत दिन पनि छलफल गरेर निर्णय गर्ने उनले प्रतिबद्धता जनाए । 

  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १७:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया