कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबारमा बुधबार भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्सकोे विषयमा छलफल गरिएको थियो । 

इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो । उक्त कार्यक्रम सञ्चालनका निम्ति नेपालका तर्फबाट सह–सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ भने इजरायलले पनि आफ्नो प्रतिनिधि छनोट गरिसकेको छ ।
 
छलफलका क्रममा मन्त्री अर्यालले नेपाली कृषकलाई इजरायली प्रविधिको तालिमको व्यवस्था गर्न सकिए नेपाली कृषि उत्पादनमा पनि वृद्धि हुने अपेक्षा व्यक्त गरिन् । इजरायल सरकारले ‘कमाऊ र सिक’को अवधारणाअनुसार ५ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई प्रतिवर्ष इजरायलमा ११ महिने तालिमको अवसर प्रदान गर्ने गरेको भन्दै उक्त तालिमबाट नेपाली विद्यार्थीले प्राप्त गरेको ज्ञान, सीपले सफल उद्यमी बन्ने अपेक्षा नेपाल सरकारले लिएको विश्वास व्यक्त गरिन् ।  

नेपालबाट हाल रोजगारी एवं अन्य सिलसिलामा ३ हजारभन्दा बढी नेपाली इजरायलमा रहेको भन्दै मन्त्री अर्यालले इजरायल पुगेका नेपालीप्रति त्यहाँको सरकारले उपलब्ध गराएको अवसर र असल व्यवहारबाट नेपाल सरकार आभारी रहेको बताइन् ।  

जवाफमा नेपालका लागि इजरायलका राजदूत हानान गोडरले इराजयलको प्राविधिक सहयोगमा सञ्चालन हुन गइरहेको नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स कार्यक्रम सफल बनाउन इजरायल सरकारको तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने बताइन् । 

नेपाल सरकार र इजरायल सरकारद्वारा संयुक्त रुपमा सञ्चालन हुने उक्त कार्यक्रमले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ । जसमा नेपाली कृषकले आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालको कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य छ । 





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १८:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया