नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिप्रति सम्मान रहेको लिखित बयान प्रहरीमा दिएकी छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा मिनभवनमा पाँच घण्टासम्म राखिएकी उनले राष्ट्रपतिप्रति सदैव सम्मान रहेको बयान दिएपछि छाडिएको हो।
महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार राष्ट्रपतिको मानमर्दन गरेको अभियोगमा पक्राउ परेकी झाँक्रीले संवैधानिक राष्ट्रपतिप्रति आफ्नो सम्मान रहेको लिखित बयान दिएकी हुन्।
'सम्मानित राष्ट्रपतिप्रति मेरो हिजो पनि सम्मान थियो, आज पनि छ र भोलि पनि रहिरहनेछ,' उनले यही बयान लिखित रुपमा दिएपछि रिहा गरिएको थापाले जानकारी दिए। 'उहाँ (रामकुमारी झाँक्री) ले राष्ट्रपतिप्रति सम्मान रहेको बताउनुभयो', उनले भने, 'राष्ट्रपतिको मर्यादामा आँच आउन नदिने वचनबद्धता गरेकाले आजै रिहा गरिएको हो।'
उनलाई प्रहरीले लिखित रुपमै प्रश्न सोधेको थियो। उनले पनि लिखित रुपमै उत्तर दिँदै देश, कानुन र राष्ट्रपतिप्रति सम्मान रहेको बताएकी थिइन्। 'मेरो देशको कानुन, राष्ट्रपति र देशप्रति सम्मान छ। मैले सार्वजनिक रुपमा बोल्दा कसैलाई पनि व्यक्तिगत रुपमा कसैलाई लाञ्छित गरेको होइन', उनले लिखित बयानमा भनेकी छन्, 'यी सबै कुरा सार्वजनिक रुपमा बोलेकी हुँ, मैले कसैको आत्मसम्मानमा चोट पुर्याउने नियतले बोलेको होइन।'
प्रतिक्रिया
झाँक्रीले रिहा भइसकेपछि सरकारले आफूलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको बताएकी छन्। महाशाखामा पाँच घण्टासम्म बसेर रिहा भएकी उनले पत्रकारहरुसँग संक्षिप्त सम्बोधनमा यस्तो बताएकी हुन्।
'सरकारले राजनीतिक प्रतिशोध साँध्ने गरी प्रहरीलाई दबाब दिएर समात्न लगाएको रहेछ', उनले भनिन्, 'प्रतिगमनविरुद्धको आन्दोलनलाई उत्कर्षमा पुर्याउन जुटिरहेका बेला राजनीतिक रुपमा ह्यारासमेन्ट गर्न मलाई समातिएको रहेछ।'
उनले अब प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको प्रतिगामी कदमलाई प्रतिनिधिसभा पुन:स्थापना गरेर घुँडा टेकाउने बताइन्।
'हामी प्रतिगमनको अन्तिम धक्का लाउँदैछौँ। जब तानाशाह ढल्दै गर्छ, त्यसले राज्य शक्तिको दुरुपयोग गरेर अग्ला अग्ला सालिक ठड्याउँछ', उनले भनिन्, 'आज केपी ओलीका भजनमण्डलीले जे गरिरहेका छन्, त्यसलाई हामी हराउनेछौँ। हामी जित्दैछौँ। संसद पुन:स्थापनापछि हामी संविधानलाई सही ट्रयाकमा लाने छौँ, राजनीतिक अस्थिरता त भयो तर पनि हामी सही बाटोमा जानेछौँ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।