जनयुद्धले लाखौँ नेपाली युवालाई क्रान्तिका लागि तयार पार्यो : बादल


गृहमन्त्री रामबहादुर थापाले जनयुद्ध नेपालमा गणतन्त्र स्थापनाका लागि ठूलो पाठशाला भएको बताएका छन्। जनयुद्धको आधारमा टेकेर नै मुलुकमा गणतन्त्र स्थापना भएको जिकिर गर्दै उनले नेपालको जनक्रान्ति र गणतन्त्र स्थापनाका लागि जनयुद्धको महत्वपूर्ण योगदानलाई भुल्न नहुने बताए। 

फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले जनतालाई जागरण दिन सफल अभियानका रूपमा जनयुद्धलाई लिनुपर्ने उल्लेख गरेका छन्। 

'जनयुद्ध उत्पादनकर्ता पनि थियो, यसले लाखौँ युवालाई क्रान्तिका निम्ति तयार पार्‍यो, यो एउटा ठूलो पाठशाला थियो, जसले देशलाई नेतृत्व गर्ने नेता कार्यकर्ता उत्पादन गर्‍यो', उनले अगाडि  भने।  जनयुद्धलाई एकतर्फबाट मात्रै बुझ्न नहुनेमा जोड दिँदै थापाले फरक फरक कोणबाट बुझ्नु जरुरी रहेको उल्लेख गरे।

थापाले नेपालको जनक्रान्तिमा निर्णायक भूमिका जनयुद्धको रहेको बताउँदै त्यसअघिका धेरै जनवादी क्रान्ति असफल भएको पनि उल्लेख गरे। वि.सं. २००७ मा कांग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन गरेर राणालाई विस्थापित गरे पनि जनवादी क्रान्तिलाई पूर्णता दिन नसकेको उनको बुझाइ छ। थापाले धेरै वामपन्थी शक्तिले गरेको प्रयास पनि असफल भएको उल्लेख गरे।

थापाले तत्कालीन राजनीतिक दलले जनआन्दोलनबाट नै लोकतान्त्रिक क्रान्ति पूरा गर्न सकिन्छ भनेर वि.सं. २०३६ र २०४६ मा गरेको प्रयाससमेत असफल भएको बताए।

वि.सं. २०४६ को आन्दोलनपश्चात गणतन्त्र स्थापनाका लागि ठूलो बहस भएसँगै नेकपा माओवादीको जन्म भएको उनले बताए। त्यसले जनवादी विचारलाई प्रयोगतर्फ अघि बढाएको तर्क उनले गरे। त्यसपछि वर्गसंघर्षको निष्कर्षका साथ वि.सं. २०५२ फागुन १ गते सशस्त्र सङ्घर्ष शुरु गरिएको थापाले बताए।



अब परिस्थिति फरक भएको बताउँदै उनले देश समाजवादी क्रान्तितर्फ अघि बढेको उल्लेख गरे। थापाले त्यसको नेतृत्व जनताले राजनीतिक नेतालाई दिएको पनि बताए। 'अब समाजवादी क्रान्तिका लागि सशस्त्र स्वरूपको अभ्यास गर्नु जरुरी छैन', उनले भने, 'शान्तिपूर्ण रुपमा समाजवादी क्रान्ति अघि बढाउनु जरुरी छ। यसमा प्रतिक्रियावादी वर्गले प्रतिरोध गर्नेतर्फ सचेत हुनुपर्छ।'

भिडियो



  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १४:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया