ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्ष विकास र समृद्धिको मुद्दा बिर्सिएर सडक संघर्षमा लागेको आरोप लगाएका छन्। पूर्व जनमुक्ति सेना नेपालको शनिबार बुटवलमा भएको राष्ट्रिय भेला तथा अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि राजनीतिक सङ्घर्ष समाप्त भएर देश विकास र समृद्धिमा अघि बढ्ने अपेक्षालाई केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण पूरा गर्न नसकिएको उनले बताए। 'केही नेताको व्यक्तिगत स्वार्थ र आकांक्षाका कारण परिवर्तनका लागि लडेका योद्धाहरुको खोजी हुन सकेन', उनले भने, 'त्यही कारण अहिलेको यो जटिल स्थिति आयो।'
जनआन्दोलनका योद्धालाई सम्मानजनक राहतका लागि सरकारले योजना बनाइसकेको उनले बताए। त्यसलाई छिट्टै कार्यान्वयन हुने विश्वास उनले जनाएका छन्। उनले पूर्व लडाकुका नाममा प्रचण्डसहितले अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप पनि लगाएका छन्।
'पुरानो व्यवस्था पल्टाएर नयाँ व्यवस्था ल्याउने सबै पूर्व लडाकुलाई हामीले सम्झनुपर्छ। क्यान्टोनमेन्टमा १९ हजार सेना राखेर ३४ हजार भत्ता बुझ्यौँ, तर त्यसमा करिब सात अर्ब घोटाला भएको छ, त्यो पैसा कहाँ गयो?', उनले भने, 'त्यसको हिसाबकिताब हुनुपर्छ, हामीले तपाईँहरुका लागि आएको त्यो पैसा कहाँ गएको खोजी गरिनुपर्छ।'
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विद्यालयमा पढ्दै गरेकालाई बुर्जुवा शिक्षाको काम छैन भनेर जनयुद्धमा समावेश गराइएको बताए। प्रचण्डप्रति लक्षित गर्दै उनले अहिले आफ्नो स्वार्थ पूरा भएपछि उनीहरुलाई लात्ती हान्ने काम गरेको आरोप लगाए।
मन्त्री भट्टले माओवादी जनयुद्धका समयमा पूर्व लडाकुका विभिन्न डिभिजनमा झण्डै ६० करोडको अनियमितता भएको खुलासा गरे। उनले जनयुद्धका कमीकमजोरी र राम्रा पक्षको विश्लेषण गर्दै यसको स्वामित्व लिन प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।
मन्त्री भट्टले भूमि, व्यवस्था आयोगमार्फत घरबारविहीन भएका पूर्व लडाकुका मागलाई सम्बोधन गर्ने बताउँदै विध्वंशकारी अराजनीतिक प्रतिक्रान्ति गतिविधि रोक्न जनमुक्ति सेना अगाडि आउनुपर्ने धारणा राखे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।