प्रधानमन्त्रीले चुनाव गराउँदैनन्, नाटक मात्रै गर्दैछन् : गगन थापा
विभाजनपछि नेकपाका दुवै समूह संकटमा परेको दाबी

नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले सरकार असंवैधानिक बाटोमा अघि बढेको आरोप लगाएका छन्। सोमबार कांग्रेसले चितवनको भरतपुरमा गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

थापाले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेसँगै सरकार प्रतिगमनको बाटोमा अघि बढेको आरोप पनि लगाए। 'प्रधानमन्त्री केपी ओली चुनावको नाटक मात्रै गरिरहेका छन्', उनले भने, 'उनी चुनाव गराउन तयार छैनन्। चुनाव नहुने दोष अरुलाई बोकाउन खोज्दैछन्, यसमा कांग्रेसले ख्याल गर्नुपर्छ।'

प्रधानमन्त्रीको पशुपति यात्रालाई पनि उनले नाटकको संज्ञा दिए। 'प्रधानमन्त्री ओली हायात होटलभित्र लुकेर कोरियाबाट ल्याएको होली वाइन पिइरहँदा हामी हामी पशुपतिमा आरती गरिरहेका थियौँ', उनले भने, 'यो सबै प्रधानमन्त्रीको नौटंकी हो। सपथ लिँदा ईश्वरलाई सम्झिन नसक्नेले अहिले पशुपति र रामको नाममा जनतामा भ्रम बाँडिरहेका छन्।'

उनले अहिले नेकपामा देखिएको विभाजनका कारण अर्को तमासा जनतामाझ देखिइरहेको बताए। 'तपाईंहरु काठमाडौं घुम्न जाँदा सडकको दाहिनेतर्फको सडकमा प्रधानमन्त्रीको बडेमानको फोटो देखिन्छ', उनले भने, 'तपाईं अब देब्रेतिर फर्किनु भयो भने 'हामी यहाँ छौँ' भनेर अरु प्रधानमन्त्री सडकमा बसिरहेका भेटिन्छन्। नेकपामा अनेक तमासा चलिरहेको छ।'

बितेका तीन वर्ष नेकपाले खेर फालेको उनले आरोप लगाए। 'बितेका तीन वर्ष सन्की प्रधानमन्त्रीका कारण खेर गएको छ। ओलीका कारण तीन वर्षमा नेपाल र नेपाली अस्तव्यस्त भएका छन्', उनले भने, 'यसबीचमा भ्रष्टाचारले सीमा नाघेको छ। नेकपा सरकारकै मान्छेले बालुवाटार पनि मिलेर खाए, प्रिन्टिङ प्रेस पनि खाएका छन्। एकपछि अर्को कु-कृत्य गर्दै गएका छन्।'

गगनले संसद कुनै पनि हालतमा पुन:स्थापना हुनुपर्ने अडान राखे। 'प्रतिनिधिसभा कुनै हालतमा पुन:स्थापित हुनुपर्छ। अनि मात्रै प्रतिनिधिसभाले दुई वर्षपछि चुनाव गर्नेछ', उनले भने, 'ओलीले गरेको चुनावी घोषणाको कुनै अर्थ छैन। उनी विरोधीहरुलाई कुनै पनि हालतमा तह लगाउने योजनामा लागेका छन्।'



उनले ओली उदाउँदो सूर्यबाट चुनाव लड्न लागिरहेको दाबी गरे। 'सरकारकै प्रवक्ताले  नेकपा फ्रिज हुन्छ, सूर्य चिन्ह फ्रिज हुन्छ अनि नेकपा एमाले पार्टी उदाउँदै गरेको सूर्यबाट चुनाव लड्छ भनेका छन्', उनले भने, 'ओली पूरै तयारीसहित अघि बढिरहेका छन्। उनलाई कुनै हालतमा रोक्नु जरुरी छ।'

ओलीले राष्ट्रपतिसँग मिलाए जस्तै सेटिङ अदालतमा सम्भव नहुने तर्क गरे। 'ओलीले मेरो सनकलाई अदालतले सदर गर्छ भनेका छन्। प्रधानमन्त्रीले राष्ट्रपतिलाई मिलाए जस्तो अदालतलाई मिलाउन सम्भव छैन भनेर सर्वोच्चले देखाउन सक्नुपर्छ', उनले भने, 'सर्वोच्चले संसद् पुन:स्थापना गरिदिएपछि अहिले देखिएको संवैधानिक संकट पनि टरेर जानेछ, मुलुक पनि ट्र्याक मा आउनेछ।'



प्रधानमन्त्री ओलीले देशमा अर्को भिडन्त मच्चाउन खोजेको आरोप पनि उनले लगाए। 'प्रधानमन्त्री ओली देशमा अर्को भिडन्त मच्चाउन खोज्दैछन्', उनले भने, 'ओलीसहित मिलेर बालुवाटार पनि खाए, प्रिन्टिङ प्रेस खाए, देशलाई नै अस्तव्यस्त बनाए।' 

अब कांग्रेसले मुलुकलाई ट्रयाकमा ल्याउने पनि गगनले बताए। 'कांग्रेसको काम सम्हाल्ने हो। अब हामी मुलुकको यो अस्तव्यस्त अवस्थालाई सम्हाल्छौँ', उनले भने, 'केपी शर्मा ओलीले गरेको असंवैधानिक कामबारे कांग्रेसले नै बोल्ने हो।'

विभाजनपछि दुवै नेकपा संकटमा रहेको भन्दै उनले कांग्रेसले त्यसको सक्दो फाइदा लिनुपर्ने मत राखे। 'अहिले नेकपामा एकातिर बादल लागेको छ, अर्कातिर प्रचण्ड गर्मी छ', उनले भने, 'यो अवस्थामा अब कांग्रेसको रुखमा मात्रै मत हाल्नु आवश्यक छ।'

उनले नेकपाका नेताहरुले उज्यालोमा गएर ​लल्लकारेपछि अँध्यारोमा भारतीय नेताहरुको खुट्टा ढोग्ने गरेको पनि बताए। 'हामी उनीहरु जस्तो भारतको खुट्टा ढोग्ने काम गर्दैनौँ', उनले अन्तिममा भने।

  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १५:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया