खुलामञ्चमा डोजर चल्यो : मेयर शाक्य भन्छन्, 'खुला ठाउँलाई खुला छाड्ने महानगरपालिकाको अभियान नै हो'

काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । महानगरले दरबार हाइस्कुल, वीर अस्पताललगायतका संरचना निर्माणका लागि राखिएको सामग्री हटाउन थालेको हो ।

राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाएर महानगरले खुला गर्ने पहल सुरु गरेको हो । 

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने ।

‘वीर अस्पताल र दरवार हाइस्कुलको पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेपछि हामीले आजदेखि उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’ शाक्यले अब बसपार्क पनि खुला गर्ने जानकारी दिए । 

‘काठमाडौँ महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको छ,’ शाक्यले भने, ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ । त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला ।’ 



काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयर शाक्यको निर्देशनअनुसार नै खुला गर्ने अभियान थालेको बताए । 



पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्याली, आमसभा लगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भएकाले महानगरले अझ छिटोभन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीले बताए । 

‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूल्ठूला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्र भित्रको ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ,’ ज्ञवालीले भने ।

ज्ञवालीले महानगरपालिका विकास निर्माणसँगै मिचिएका सार्वजनिक जग्गा फिर्ता गरी खुला गर्ने अभियानमा आक्रमक रुपमा अघि बढेको जानकारी दिए । 

  • प्रकाशित मिति : फागुन ५, २०७७ बुधबार ९:४१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया