राष्ट्रपति र प्रधानमन्त्री मिलेर लोकतन्त्रमाथि प्रहार गरे : पूर्वराष्ट्रपति यादव

पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण  लोकतन्त्र संकटमा परेको जिकिर गरेका छन् । 

शुक्रबार नेपाली काँग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित समाजवाद बिपी विचार संग्रह पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै डा. यादवले लोकतन्त्रमाथि ग्रहण लागिसकेको बताए ।

उनले प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दा राष्ट्रपति समेत साक्षी बस्नु गलत रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप लगाए ।

उनले भने, ‘दल विभाजनको अध्यादेश ल्याउनु, राष्ट्रपतिद्वारा त्यसको सदर गरिनु, संवैधानिक परिषदमा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायतका क्रमिक रूपमा लोकतन्त्रमाथि प्रहार हुँदै आइरहेको र यस्तो परिस्थितिमा निर्वाचनमा जानु भनेको दलहरू आफ्नै टाउको फुटाउनबाहेक केही छैन ।’

डा. यादवले संविधान जारी गर्ने बखतमा आफूले तराई, मधेश, हिमाल र पहाडलाई मिलाउन खोजे पनि अहिले त्यसलाई विखण्डन गर्न खोजिएको जिकिर समेत गरे ।

कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीको कदम लोकतन्त्र, गणतन्त्र र संघीयताको पक्षमा नरहेको बताए । उनले सर्वोच्च अदालतले प्रधानमन्त्रीकै कदमलाई सदर गर्ने हो भने संसद विघटन गर्नुको कानुनी आधार खुलाउनुपर्ने धारणा राखे ।



उनले वर्तमान अवस्थामा निर्वाचन हुने कुनै अवस्था नरहेको भन्दै प्रधानमन्त्रीको कदमविरुद्ध सबै लोकतन्त्र पक्षधर एक भई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

डा. कोइरालाले वर्तमान समस्याको विकल्प निर्वाचन नभई संसद पुनःस्थापना रहेको जिकिर गरे । संसद पुनःस्थापनाका लागि पुनः एक पटक आन्दोलन गर्ने बेला आइसकेको कोइरालाको भनाइ थियो ।



  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १७:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया