टोपबहादुरको टिप्पणी : सूर्य चिन्ह ओलीको हो, प्रचण्डले दाबी गर्न मिल्दैन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अर्को पक्षका प्रथम अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेकाले उक्त चिन्ह दाहालको नेतृत्वले पाउन नसक्ने बताए।

'प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन, जुन चिन्ह आफूले प्रयोग गरेको छैन, त्यही कसरी दाबी गर्न मिल्छ?', रायमाझीले भने, 'बरु उहाँले हँसिया हथौडा चुनाव चिन्ह माग्न सुहाउँछ, सूर्य चिन्हबाट चुनाव लड्ने हो भने प्रम केपी ओलीले टिकट दिनुपर्छ।'

सहमतिबाट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसक्ने भएपछि चोरबाटोबाट एकता भाँड्न खोजेको मन्त्री रायमाझीले बताए। निर्वाचनबारे शंका नपाल्न आग्रह गर्दै उनले चुनावमा आउन नेपाली कांग्रेसलगायतका पार्टीलाई आव्हानसमेत गरे।

सभालाई सम्वोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले देश समृद्धिको बाटोमा हिँड्न थालेपछि प्रधानमन्त्री ओलीलाई हटाउने योजना बनाउने काम भए पनि सफल हुन नसकेको बताए। अब ताजा जनादेशका लागि निर्वाचनमा जुट्न उनले जिल्लावासीलाई आग्रहसमेत गरे।

सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले प्रधानमन्त्री ओलीलाई काम गर्न नदिने प्रचण्ड-माधव आफैँ असफल भएको जिकिर गरे। जिल्लाका सात गाउँपालिकामा गाउँपालिकास्तरीय सभा सम्पन्‍न गरी फिदिममा जिल्लास्तरीय सभा गरिएको हो।





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार २१:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया