प्रदेशसभा रोक्न मुख्यमन्त्रीको दबाब, सभामुखले मानेनन्, सत्ता पक्षले अवरोध गर्ने

मुख्यमन्त्री शेरधन राईले प्रदेश १ प्रदेशसभा बैठक आज पनि स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन्। आफूविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएपछि आइतवार दिउँसो बस्न लागेको बैठक स्थगित गर्न मुख्यमन्त्री राईले सभामुख भण्डारीलाई दबाब दिएका हुन्। 

आइतबार बिहान मुख्यमन्त्री निवासमा भेटका क्रममा मुख्यमन्त्री राईले अहिलेकै अवस्थामा बैठक बस्न नसक्ने भन्दै पहिले जस्तै सूचना टाँसेर स्थगित गर्न दबाब दिएका हुन्। 

तर यसअघि पनि रोकेको जनाउँदै अब बैठक प्रक्रिया अनुसार अघि बढ्ने बताएका थिए। उनले अविश्वासको प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूची तय भइसकेको अवस्थामा सधैँ बैठक रोकेर बस्न नसकिने जवाफ दिएका हुन्। 

पुस ५ मा संघीय संसद विघटन गरेसँगै प्रदेश सभा १ का ३७ सांसदले पुस १२ मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर उक्त प्रस्ताव अहिलेसम्म पनि संसदमा टेबुल भएको छैन। माघ ७ गतेदेखि सुरु प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै रोकिएको थियो। 

माघ २५ गते बसेको दोस्रो बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो। तर उक्त बैठकमा सत्तारुढ नेकपा ओली समूहका सांसदहरु अवरोध गरे। दोस्रो बैठक पनि मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव छल्ने रणनीति अनुसार अवरोध गर्न लगाएका थिए। दाहाल-नेपाल समूहमा रहेका सांसदहरुले दर्ता गराएको अविश्वास प्रस्ताव सजिलै सामना गर्ने बताइरहेका मुख्यमन्त्री राईले प्रस्ताव टेबुल नै हुन नदिने गरि सत्तारुढकै सांसदलाई अवरोध गर्न लगाएका छन्। 

मुख्यमन्त्री राईले आफूले कारवाही गरेका सांसदहरुलाई प्रदेशसभामा प्रवेश दिन नहुने अडान लिएका छन्। उनले अविश्वास प्रस्ताव खारेज हुनुपर्ने र आफूले कारबाही गरेका सांसदहरुलाई प्रदेशसभामा प्रवेश दिन नहुने अडान राखेका छन्। 



उता अविश्वास प्रस्ताव दर्ता गराएका नेकपा दाहाल-नेपाल र नेपाली कांग्रेसका सांसदहरुले भने संसदबाटै सबै छिनोफानो गर्नुपर्ने मतसहित बैठक अघि बढाउनुपर्ने बताउँदै आएका छन्। 



  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १२:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया