प्रदेश १ : संसद‍मा गएन सत्ता पक्ष, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

प्रदेश १ संसद बैठकमा सत्ता पक्ष अनुपस्थित भएको छ। आइतबार बसेको प्रदेशसभाको बैठकमा नेकपा ओली समूह अनुपस्थित भएको हो। प्रचण्ड-माधव नेपाल पक्षका सांसद इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्‍वास प्रस्ताव सदनमा पेस गरेका छन्।

सत्ता पक्ष अनुपस्थित भए पनि दाहाल-नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका छन्। आज उक्त अविश्वास प्रस्ताव दर्ताबारे छलफल हुने कार्यसूची थियो । 

तर, सरकार नै सहभागी नभएपनि बैठक सुरु भएको हो । मुख्यमन्त्री राईले बैठकमा सहभागी हुन नसक्ने जानकारी सभामुखलाई गराएका थिए। तर सभामुख प्रदीपकुमार भण्डारीले सत्ता पक्षको अनुपस्थितिबिना नै बैठक अघि बढाएका हुन्। 

यसअघि मुख्यमन्त्री राईले संसद बैठक रोक्न सभामुख भण्डारीलाई दबाब दिएका थिए । तर, सभामुखले अस्वीकार गर्दै कार्यसूची प्रकाशन गरेका थिए।

पुस ५ मा संघीय संसद विघटन गरेसँगै प्रदेश सभा १ का ३७ सांसदले पुस १२ मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर उक्त प्रस्ताव अहिलेसम्म पनि संसदमा टेबुल भएको थिएन। माघ ७ गतेदेखि सुरु प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै रोकिएको थियो। 

माघ २५ गते बसेको दोस्रो बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो। तर उक्त बैठकमा सत्तारुढ नेकपा ओली समूहका सांसदहरु अवरोध गरे। दोस्रो बैठक पनि मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव छल्ने रणनीति अनुसार अवरोध गर्न लगाएका थिए। 



दाहाल-नेपाल समूहमा रहेका सांसदहरुले दर्ता गराएको अविश्वास प्रस्ताव सजिलै सामना गर्ने बताइरहेका मुख्यमन्त्री राईले प्रस्ताव टेबुल नै हुन नदिने गरि सत्तारुढकै सांसदलाई अवरोध गर्न लगाएका थिए। 

मुख्यमन्त्री राईले आफूले कारवाही गरेका सांसदहरुलाई प्रदेशसभामा प्रवेश दिन नहुने अडान लिएका थिए। उनले अविश्वास प्रस्ताव खारेज हुनुपर्ने र आफूले कारबाही गरेका सांसदहरुलाई प्रदेशसभामा प्रवेश दिन नहुने अडान राखेका थिए। तर आज सत्ता पक्षकै अनुपस्थितिबिना बैठक अघि बढेको हो।



अविश्वास प्रस्ताव दर्ता गराएका नेकपा दाहाल-नेपाल र नेपाली कांग्रेसका सांसदहरुले भने  संसदबाटै सबै छिनोफानो गर्नुपर्ने मतसहित बैठक अघि बढाउनुपर्ने बताउँदै आएका छन्। 

  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १६:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया