कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर समान हुँदा उद्योग सञ्चालनमा समस्या

चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर फरक पार्ने घोषणा गरे पनि त्यसो हुन सकेको देखिँदैन । त्यो घोषणा केवल घोषणामै सीमित बनेको उद्योगीहरू बताउँछन् ।

पछिल्लो समय मुलुकमा आयातित कच्चा पदार्थ र तयारी वस्तुको समान भन्सार दर लाग्ने गरेको छ । कुनै पनि तयारी वस्तु आयात गर्दा होस् वा सो वस्तु स्वदेशमा नै उत्पादन गर्न आवश्यक कच्चा पदार्थ नै किन नहोस् सरकारले दुवैमा समान भन्सार लिने गरेको छ ।

चालु आवको बजेटमार्फत् सरकारले तयारी वस्तु र कच्चा पदार्थबीचको समान भन्सार दरलाई एक तहको फरक पार्ने घोषणा गरेको थियो । देशमा औद्योगिक विकासलाई प्रश्रय दिन भन्सार दर फरक बनाउने सरकारले बताएको थियो ।

चालु आव सकिन ४ महिना मात्रै बाँकी रहँदासम्म पनि सरकारले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।

तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर समान हुनुले सरकार औद्योगिक वातावरण बनाउन गम्भीर नभएको पुष्टि भएको छ ।

‘सरकारले मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न भन्सार दरमा एक तहको फरक ल्याउने भनेको थियो’, सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल भन्छन्, ‘तर त्यो लागू भएन । यसले औद्योगिक वातावरण निर्माणमा सरकारको कुनै चासो नरहेको प्रष्ट देखिन्छ ।’ 



हाल जुत्ता–चप्पलका लागि आवश्यक पर्ने सोल नेपालमै उत्पादन गर्न सक्ने उद्योग स्थापना भइसकेका छन् । जुत्ता–चप्पलको सोल र सोल बनाउन चाहिने आवश्यक कच्चा पदार्थ आयात गर्दा सरकारले उद्योगीसँग समान भन्सार लिने गरेको अग्रवाल बताउँछन् । सरकारले जुत्ता–चप्पलको सोलमा १० प्रतिशत भन्सार लिइरहेको छ भने सोल बनाउन आवश्यक कच्चा पदार्थको आयातमा पनि १० प्रतिशतको भन्सार दर कायम छ, उनले थपे ।

सिद्धार्थ ग्रुपले मिनालो ब्रान्डमा जुत्ता–चप्पलको सोल बनाइरहेको छ । कम्पनीले नेपालभित्र हुने सोलको मागलाई धान्ने गरी उद्योग सञ्चालनमा ल्याएको हो । सिद्धार्थ ग्रुपले नेपालमा उत्पादन गरेको सोल विदेशसमेत निर्यात गर्छ । विगतमा उद्योगी तथा व्यवसायीले पटक–पटक सोललाई तयारी वस्तुको सूचीमा राख्न सरकारलाई आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ नभएको अग्रवालले जनाए ।



यस्तै टफन ग्लासतर्फका व्यवसायीको पनि उस्तै गुनासो छ । उद्योगीले स्वदेशमा नै टफन ग्लास बनाउनु र विदेशबाट आयात गरेर ल्याउनुमा भन्सार दर एउटै रहेकाले व्यवसाय गर्न समस्या भोग्नु परेको यस क्षेत्रका व्यवसायी बताउँछन् । कच्चा ग्लास ल्याउँदा ३० प्रतिशत भन्सार र टफन गरिएको ग्लास ल्याउँदा पनि ३० प्रतिशत नै भन्सार रहेको उद्योगीहरूले बताएका छन् ।

उद्योगीले बारम्बार भन्सार दरको विषयमा ध्यानाकर्षण गराए पनि सरकारले यसलाई गम्भीरताका साथ नहेरेको उद्योगी बताउँछन् । तयारी वस्तु र कच्चा पदार्थको भन्सार समान हुँदा आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग धराशायी हुने अवस्थामा पुगेको उनीहरूको गुनासो छ ।

करिब १ अर्ब रुपैयाँ लगानीमा केडिया अर्गनाइजेसनले सञ्चालन गरेको टफन ग्लास उद्योगले पनि उत्तिकै समस्या भोग्नुपरेको छ । सरकारले तयारी वस्तु तथा कच्चा पदार्थको भन्सार दरमा एक प्रकारको भिन्नता नगरे आगामी दिनमा थुप्रै उद्योग बन्द हुने अवस्थामा पुग्ने उद्योगीहरूको अनुमान छ ।

  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार २०:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया