वि.सं. २०७८ सालमा तीनवटा दशैँ

आउन लागेको वि.सं २०७८ सालमा तीन दशैँ परेका छन्। नयाँ वर्षको चैत शुक्ल पक्षमा दुई वटा चैते दशैँ परेका छन्। आगामी वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रोमा पनि २०७८ सालमा तीनवटा दशैँ परेको उल्लेख गरिएको छ।

यस्तै वि.सं. २०७८ को चैत २६ गते शनिबार अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ। बडादशैँको रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुनेछ।

असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी परेको छ। कार्तिक कृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ ।

दशैँ र तिहार नेपालका प्रमुख चाडपर्व हुन्। तिहारको लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँदै आएका छन्। शक्ति पीठ र देवीको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने गर्छन्। चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्वका साथ मनाउने गरेका समिति अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए।

वर्षमा चार पटक चैत, असार, असोज र पुस शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छन्। असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आम रूपमा मनाउँदैनन्। 



वि.सं. २०७७ असोजमा मलमास (अधिकमास) परेकाले वि.सं. २०७८ मा तीनवटा दशैँ परेको गौतमले बताएका छन्।



  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १३:२४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया