आर्थिक संकटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको  हालसम्मको आम्दानी र खर्च सार्वजनिक गरिएको छ ।

धुर्मुमु–सुन्तली फाउन्डेसनको अगुवाइमा जनस्तरबाट निर्माणाधीन रंगशालाको हालसम्मको आम्दानी र खर्च सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।

फाउन्डेसनले सार्वजनिक गरेको विवरणअनुसार रंगशाला निर्माणमा आर्थिक संकट देखिएको छ ।

फाउन्डेसनको डिपिआर अनुसार कुल लागत ३ अर्ब ५५ करोड रहेको रंगशाला निमार्णका लागि हालसम्म ३२ करोड ३० लाख, २४ हजार ३५४ रुपैयाँ मात्र संकलन भएको छ । यो रकम परियोजना निमार्णका लागि १.१० प्रतिशत मात्र रहेको फाउन्डेसनले जनाएको छ ।

हालसम्म ४३ करोड ४८ लाख ६ हजार २८२ रुपैयाँ खर्च भइसकेको छ । रंगशाला निर्माणमा हालसम्म ११ करोड १७ लाख ८२ हजार ऋण लागेको फाउन्डेसनले जनाएको छ ।

आर्थिक संकटका बाबजुत पनि मुख्य मैदानको करिब ८५ प्रतिशत र प्याराफिटको ३० प्रतिशत काम सम्पन्न भइसकेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस) ले जानकारी गराए ।



नेपालको मौलिकता झल्कने गरी कमल फुलको आकारमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।

२०७५ माघ १६ गते भरतपुर महानगरपालिका र फाउन्डेसनबीच सम्झौता भएपछि रंगशालाको निर्माण अघि बढेको थियो । रंगशाला महानगरले उपलब्ध गराएको २० बिघा जमिनमा निर्माण भइरहेको छ ।



  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १४:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया