आइपिओमार्फत् न्यूनतम ५० कित्ता आवेदन दिन पाउने व्यवस्था गर्दै सेबोन

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइपिओ बाँडफाँटमा हाल प्रयोग हुँदै आएको १० कित्ता नीति परिवर्तन गर्ने संकेत गरेको छ । बजारमा धेरै लगानीकर्ताको सहभागी भए पनि विकृति बढेको भन्दै सेबोनले त्यसलाई परिमार्जन गर्नका लागि अन्य विकल्पमा छलफल थालेको हो ।  

सेबोनका अध्यक्ष भीष्मराज ढुंगानाले यो नीति हटाउने बेला आएको महसुस भएकाले विभिन्न विकल्पमा छलफल भइरहेको बताए । आवेदन दिने सबैले न्यूनतम १० कित्ता पाउँदा यस नीति प्रभावकारी देखिएको भए पनि अब भने त्यसलाई हटाउनका लागि अध्ययन भइरहेको अध्यक्ष ढुंगानाले जनाए । हाल पनि  आवेदन दिने सबैले सेयर नपाएको अवस्थामा यो १० कित्ते नीतिको औचित्य नरहेको उनले थप स्पष्ट पारेका छन् ।

अहिले १० कित्ते नीति हुँदा बजारमा एकै व्यक्तिले धेरै जना व्यक्तिको नाममा खाता खोलेर सेयर भर्ने गर्नाले विकृति बढेको बोर्डको निष्कर्ष छ । सेबोनले गत वर्ष गरेको एक सचेतना कार्यक्रममा बोर्डका निर्देशक नारायण शर्माले सेयर बजारलाई समावेशी बनाउनका लागि ल्याइएको १० कित्ते नीतिले सेयरमा लगानी गर्न चाहनेहरू सबैको हातमा सेयर पुगे पनि बेच्नका लागि समस्या भएको उल्लेख गरेका थिए । 

लामो प्रक्रिया पूरा गरी सेयरमा आवेदन दिँदा १० कित्ता मात्र सेयर पर्दा सेयर परेको अनुभूति नै नहुने, सेयर नपर्दा आफूले खर्चेको समय खेर जाने, परेको सेयर बेच्न पनि लामो प्रक्रिया अपनाउनु पर्ने र विकृति देखिएको लगायतका कारणले बोर्डले यस नीतिलाई परिमार्जन गर्न खोजेको सेबोनका दाबी छ ।

बोर्डले यस अघिझैँ न्यूनतम ५० कित्तादेखि मात्रै आवेदन दिन पाउँने गरी नीति परिमार्जन गर्ने छलफल गरिरहेको छ । अध्यक्ष ढुंगानाका अनुसार परिमार्जन गर्ने निर्णय गर्नु अघि पहिले केही कम्पनीको आइपिओ बिक्री र बाँडफाँटलाई अध्ययन गरिनेछ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्ने तयारी गरिरहेको र त्यसमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने व्यवस्था गरिएकाले त्यस समयसम्म अध्ययन गर्ने उनको भनाइ छ ।

सर्वोत्तम सिमेन्टको आइपिओपछि १० कित्ते नीतिलाई परिवर्तन गरेर न्यूनतम ५० कित्ता पुर्‍याउने उनले संकेत गरेका छन् । यद्यपि उनले कुनै ठूलो आकारको आइपिओ आएमा र सबैले सेयर पाउने सम्भावना रहेमा आइपिओको आकार अनुसार पनि बाँडफाँडको नियम बन्न सक्ने पनि बताएका छन् ।



हाल धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम सेयर बाँडफाँड हुँदै आएको छ । निर्देशिकाको दफा ३० मा धितोपत्र बाँडफाँड गर्दा सर्वप्रथम सबै आवेदकलाई १० कित्ताको दरले धितोपत्र बाँडफाँड गर्नु पर्ने व्यवस्था छ ।

सबैलाई न्यूनतम १० कित्ता  बाँडफाँड गरेपश्चात् बाँकी रहेको निष्कासित धितोपत्र २० वा सो भन्दा बढी कित्ता आवेदन दिने आवेदकहरूलाई पुनः दश कित्ताका दरले धितोपत्रको बाँडफाँड गर्नु पर्ने व्यवस्था छ । त्यसपछि पनि सेयर बाँकी रहेमा सोही प्रक्रियाअनुसार बाँकीको सेयर बाँडफाँड गर्नु पर्ने प्रावधान रहेको छ । 



तर, धितोपत्र बाँडफाँट गर्दा १० कित्ताका दरले सबै आवेदकहरूलाई बाँडफाँट गर्न अपुग हुने अवस्थामा न्यूनतम १० कित्ता पाउने गरी गोला प्रथाबाट आवेदक छनोट गरी धितोपत्र बाँडफाँड गर्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १३:७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया