भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ११ लाख ३९ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९८ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५७ हजार ३४६ जना पुगेको छ । हाल भारतमा १ लाख ७० हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने १ करोड ८ लाख १२ हजारभन्दा बढी कोराना मुक्त भएका छन् ।
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म १ करोड ५६ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी र प्रत्यक्ष रुपमा सार्वजनिक क्रियाकलापसँग सम्बन्धित व्यक्तिहरु रहेका छन् ।
यसैबीच सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले मङ्गलबारसम्म देशभर २१ करोड ८४ लाख ३२ हजारको हाराहारीमा नमुना परीक्षण गरेको छ । मङ्गलबार एकै दिनमा मात्र ७ लाख ८५ हजार २२० जना व्यक्तिको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।
भारतमा गत सोमबारबाट ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम सुरु भएको छ । त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप सुरु गरिएको अधिकारीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।