धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा बिहीबार भएको पहिलो खेलमा शारदा स्कुललाई ९ विकेटले पराजित गर्दै लिटलले पहिलो जित निकालेको छ ।
धनगढीको संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा शारदाले दिएको ९४ रनको लक्ष्य लिटलले ९ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । लिटलको जितमा सुवास ऐरले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले । प्लेयर अफ दी म्याच बनेका सुवास यस प्रतियोगिताकै सर्वाधिक चाँडो अर्धशतक बनाउने खेलाडी बने । उनले ६ छक्का र तीन चौका प्रहार गरे ।
यस्तै, नरेन भट्टले अविजित ३१ रन जोड्दा अनुराग सिंहले अविजित ६ रन बनाए । शारदाका लक्की कडायतले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो । उसका सचिन साउदले अविजित ३१ रन जोडे । युवराज थापाले १४ रन बनाए । लिटलका मनोज चनारा, सुवास ऐर र सचिन भट्टले २–२ विकेट लिए ।
बिहीबार नै भएको दोस्रो खेलमा धनगढी नमुनालाई ९ विकेटले पराजित गर्दै स्टेपिङ स्टोनले पहिलो जित दर्ता गरेको छ । पहिले ब्याटिङ गरेको धनगढी नमुनाले ११ ओभरमा अलआउट हुँदै ४८ रन बनाएको थियो । उसका लागि आयुष खड्काले सर्वाधिक १९ रन बनाए । धनगढीलाई सस्तैमा समेट्न स्टेपिङका भूपेश जोशीले १० रन खर्चिएर ६ विकेट लिए । शुभम् जैशीले २ विकेट लिए । धनगढीले दिएको ४९ रनको लक्ष्य स्टेपिङले ५ ओभर ३ बलमा १ विकेट गुमाएर भेट्टायो ।
स्टेपिङका अविषेक कुँवरले अविजित ३२ रन जोडे । धनगढीका अनुप कुँवरले १ विकेट लिए । खेलका म्यान अफ दी म्याच स्टेपिङका भूपेश जोशी भए । लगातार दोस्रो हारसँगै धनगढी नमुना प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउनेछन् । त्यस्तै, उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीले ५–५ हजार पाउनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।