कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सुर्खेतका झण्डै २५ हजार नागरिकले खोप लगाउने भएका छन् । फागुन २३ गतेदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लाभरका २४ हजार ९ सय ७६ जना नागरिकलाई खोप लगाउने तयारी गरिएको छ ।
दोस्रो चरणमा ६५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक र पहिलो चरणमा छुटेकाले खोप लगाउन पाउने छन् । दोस्रो चरणको खोप अभियान सफल बनाउन जिल्लाभर ६० वटा खोप केन्द्र तोकिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
त्यसका लागि २ सय ५६ जना स्वास्थ्यकर्मी र ६ सयभन्दा बढी स्वयंसेवक खटिने छन् । त्यस्तै अभियानमा ४ वटा चिकित्सकको टोलीसमेत परिचालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जनाए ।
खोप हरेक स्थानीय तहका स्वास्थ्य केन्द्रबाट उपलब्ध गराइने छ । कार्यालयका अनुसार २३ गतेदेखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका र चिंगाड गाउँपालिकामा खोप लगाइने छ ।
त्यस्तै २६ गतेदेखि २८ गतेसम्म चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, गुर्भाकोट र पञ्चपुरी नगरपालिकामा खोप अभियान सञ्चालन हुने वाग्लेले जनाए । नेपालमा अहिले ‘कोभिशिल्ड’ खोप प्रयोगमा ल्याइएको छ । खोप लगाएपछि ९० प्रतिशत जोखिम कम गर्ने अपेक्षा गरिएको छ ।
जोखिम क्रमअनुसार १८ वर्षदेखि माथिका सबैलाई खोप लगाउने सरकारको लक्ष्य छ । जसअन्तर्गत पहिलो चरणको खोप अभियान सम्पन्न भइसकेको छ । पहिलो चरणमा ७३ प्रतिशत अर्थात ७ हजार ४७५ जनाले खोप लगाएका थिए ।
पहिलो चरणमध्ये पनि पहिलो पटक २ हजार ३४० जना र दोस्रो पटक ५ हजार १३५ जनाले खोप लगाएका थिए । पहिलो चरणमा खोप लगाएकालाई आगामी वैशाख ७ गतेदेखि १५ गतेसम्म दोस्रो डोज दिने सरकारको तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।