कोरोनाको असर : बन्द भए १९ सिनेमा हल

नेपालमा कोरोना महामारी सुरु हुनु अघि काठमाडौं उपत्यकाका भक्तपुर, नयाँ बानेश्वर र बालाजुमा मल्टिप्लेक्स सञ्चालनमा आएका थिए । निक्कै तामझामका साथ सुरु भएका यी हलहरुले व्यापारको लय समात्न नपाउँदै विश्वमा कोरोना महामारी फैलियो । गत वर्षको चैतबाट नेपालमा पनि देशव्यापी लकडाउन घोषणा गरियो । कोरोनाको चपेटामा परेका यी मल्टिप्लेक्सहरुले अन्य व्यापार व्यवसाय पुरानै लयमा फर्कन लाग्दा पनि गति समात्न सकेका छैनन् ।

नयाँ खुलेका मल्टिप्लेक्सको मात्रै होइन वर्षौंदेखि राम्रो व्यापार गर्दै आएका हलहरु पनि बन्द हुने चरणमा पुगेका छन् ।  कोरोना कहर सकिए लगत्तै काठमाडौं सबैभन्दा धेरै दर्शकको उपस्थिति रहने गोपीकृष्ण मुभिजको भवन भत्काउन सुरु गरियो । उक्त स्थानमा २५ तलाको मल बन्दैछ । त्यही मल भित्र ३ वटा पर्दाको मल्टिप्लेक्स निर्माण त हुनेछ । तर, यसका लागि दर्शकले ३ वर्ष कुर्नु पर्नेछ ।

२० वर्षदेखि सञ्चालन हुँदै आएको काठमाडौंकै जय नेपाल हल सधैंका लागि बन्द गरिएको छ । । क्वेष्ट इन्टरटेन्मेन्टले जग्गा लिजमा लिएर सञ्चालन गर्दै आएको उक्त हल चलाउन सक्ने अवस्था नरहेको क्वेष्ट इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले बताए ।

सपिङ मल नभएको ठाउँमा हल चलाउन गाह्रो भएको उनले बताए । अब क्युएफएक्स चेन अन्तर्गत वीरगञ्जमा नयाँ हल खोल्ने तयारीमा रहेका नकिम हाल जय नेपाल हलका सामानहरु बिक्री गरिरहेका छन् । ४ सयभन्दा बढी सिट क्षमता भएको यो हल विगत केही वर्षदेखि घाटामा थियो । कोरोनाका कारण चलाउनै नसक्ने अवस्थामा पुगेको नकिमले बताए ।

जय नेपाल हल मात्रै होइन देशभरका झण्डै १९ हल बन्द हुने चरणमा छन् । काठमाडौंको गंगा हल, पूर्वी नेपाल धुलाबारीको दमक हल बन्द भइसकेका छन् । अन्य हल पनि बन्दको तयारीमा रहेको भन्दै चलचित्र संघका महासचिव अशोक शर्माले अवस्था विकराल बन्दै गएको बताए ।

एक वर्षदेखि ठप्प रहेका हलमा चलचित्र लगाए पनि दर्शक नगएपछि बन्द गर्ने अवस्था आएको शर्माले बताए । भाडामा रहेका हल बन्द हुँदा पनि आफ्नै भवन रहेका हल सञ्चालकहरूले पर्खिएका थिए । तर,  विकल्प नदेखेपछि आफ्नै भवनका हल पनि बन्द हुने चरणमा पुगेको शर्माले बताए ।



कोरोना महामारी अघि नेपालमा १९३ हल सञ्चालनमा थिए । आफ्नै भवन रहेका सिंगल थिएटरका दैनिक २५ हजार मल्टिप्लेक्सको ५० हजार खर्च हुने भन्दै शर्माले उक्त खर्च धान्नै नसकेका कारण बन्द हुन लागेको बताए ।

कोरोना अति प्रभावित क्षेत्रको पहिचान गरी केही क्षेत्रलाई सहयोग गरे पनि चलचित्र उद्योगलाई सरकारले सहयोग नगरेको चलचित्रकर्मीको गुनासो छ । अहिले बन्द भएका सिंगल थिएटर फेरि सञ्चालन गर्न नसकिने हल सञ्चालकहरु बताउँछन् । सुलभ सिंगल थिएटर बन्द भएसँगै नेपाली सिनेमा निम्न आय भएका सर्वसाधारणको पहुँच बाहिर गएको उनीहरुको भनाइ छ ।



  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार ११:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया