काठमाडौँ महानगरपालिकामा फागुन २३ गतेबाट सञ्चालन हुने कोरोना विरुद्धको दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको नगरपालिकाले जानकारी दिएको छ ।
खोप केन्द्र तोकिएका अस्पतालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, मदरल्यान्ड अस्पताल सिनामङ्गल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल, ओम अस्पताल एन्ड रिसर्च सेन्टर, स्तुपा अस्पताल बौद्ध, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, हिमाल अस्पताल नक्साल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र जनमैत्री अस्पताल बालाजु छन् ।
वडा छुट्याएर केन्द्र तोकिए पनि परिचय खुल्ने फोटोसहितको परिचयका आधारमा पायक पर्ने अस्पतालमा खोप लगाउन सकिने कामपाको भनाइ छ । परिचयपत्र उपलब्ध नहुनेका लागि सिफारिस आवश्यक पर्नेछ ।
तोकिएका बाहेक अन्य अस्पतालले पनि खोप सञ्चालन गर्न चाहेमा नगरपालिकासँग समन्वय गरेर सञ्चालन गर्न सकिने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । खोप लगाउनुपूर्व कामपाको ३२ वटै वडामा रहेका लाभग्राहीको सङ्ख्या पूर्वानुमान गर्ने, स्वयंसेवकको सङ्ख्या बढाउने, वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि सक्रिय बनाउने र अशक्त भएका व्यक्तिलाई कसरी खोप दिनेबारे निर्णय गर्ने प्रवक्ताको भनाइ छ ।
एउटा केन्द्रमा दुई जना खोप लगाइदिने व्यक्ति र छ स्वयंसेवक खटाउने तयारी छ ।
कामपामा करिब २ लाख १५ हजार व्यक्ति खोपका लक्षित समूहमा छन् । विगतका अभ्यास हेर्दा करिब १ लाख ५० हजार व्यक्ति खोपका लागि आउने अपेक्षा महानगरले गरेको छ ।
सबै केन्द्रमा खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।