दोस्रो चरणमा कर्णालीका १ लाख बढीलाई कोरोना खोप
फाइल तस्बिर

दोस्रो चरणको कोरोनाविरुद्धको खोप आज (आइतबार)देखि कर्णालीसहित देशभर लगाइँदै छ । भारतबाट ल्याइएको ‘कोभिशिल्ड’ खोप नेपाल सरकारको नीतिअनुसार देशभर लगाउन सुरु गरिँदैछ ।
 
दोस्रो चरणअन्तर्गत कर्णाली प्रदेशमा १ लाखभन्दा बढी जेष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले खोपको सबै तयारी पूरा भएको बताएको छ । 

प्रदेशभरका २ सय ८८ खोप केन्द्रबाट १ लाख ७ हजार ६६२ जनालाई खोप दिने तयारी गरिएको छ । जसमध्ये ९५ प्रतिशत जेष्ठ नागरिक रहेका छन् भने बाँकी पहिलो चरणको प्राथमिकतामा परेका तर खोप लिन नपाएका नागरिक रहेका छन् ।
 
तथ्याङ्कअनुसार डोल्पामा २ हजार ५२४ जना, मुगुमा ३ हजार ८१५ जना, हुम्लामा ३ हजार ५०५ जना, जुम्लामा ७ हजार ५५८ जना र कालिकोटमा ९ हजार ५०८ जनालाई खोप दिने बताइएको छ । 

त्यस्तै, दैलेखमा १७ हजार ७३० जना, जाजरकोटमा ११ हजार ८३३ जना, रुकुम पश्चिममा १० हजार ११३ जना, सल्यानमा १६ हजार २०० जना र सुर्खेतमा २४ हजार ९७६ जनालाई खोप दिने तयारी गरिएको निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक वसन्तमान श्रेष्ठले जानकारी दिए । 

पहिलो चरणको खोप अभियानमा कर्णाली प्रदेशमा २६ हजार ९९० जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । हरेक खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मी, ३ जनाभन्दा बढी स्वयंसेविका, निर्वाचित प्रतिनिधिहरुको उपस्थिति रहने उनको भनाइ छ । ‘दोस्रो चरणको लागि कति डोज आएको छ भन्ने एकिन छैन,’ उनले भने, ‘लगाउँदै गएपछि यो संख्या अझै बढ्न सक्ने हाम्रो अनुमान छ ।’

दोस्रो चरणमा ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिक र पहिलो चरणको प्राथमिकतामा परेका तर बाध्यात्मक कारणले खोप लगाउन छुटेकाले पनि खोप लगाउन पाउनेछन् । तर, हिमाली जिल्लाको सन्दर्भमा भने ५५ वर्षदेखि माथिका नागरिकले पनि खोप पाउने छन् । 

जसअनुसार कर्णाली प्रदेशका हिमाली जिल्लाहरु हुम्ला र डोल्पामा ५५ वर्षभन्दा माथि र अन्य जिल्लामा ६५ वर्षमाथिका नागरिकलाई खोप लगाइने छ । पहिलो चरणमा खोपको पहिलो डोज लगाएकालाई भने आउँदो वैशाख ७ गतेदेखि १५ गतेसम्म दोस्रो डोज दिने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार ९:३८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया