रामबहादुर थापा 'बादल' नेकपा एमालेका उपाध्यक्ष !
अन्य नेतालाई पनि सम्मानजनक हैसियत दिने तयारी

सर्वोच्च अदालतले २३ फागुनमा साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेकपा खारेज भइसकेको छ। यस्तो अवस्थामा तत्कालीन माओवादी केन्द्रबाट एमालेतर्फ लागेका नेताहरुलाई सम्मानजनक हैसियत दिने तयारी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। 

पुष्पकमल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र छाडेर आएका सबैभन्दा सिनियर नेता रामबहादुर थापा 'बादल'लाई ओलीले पार्टीमा उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेका छन्। मंगलबार पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा ओलीले बादलसहित माओवादी केन्द्रबाट आएका नेताहरुसँग छलफल चलाइरहेका थिए। 

बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरीसहितका नेताहरुलाई एमालेमै राख्ने गरी ओलीले तयारी गरेका हुन्। जसअनुसार बादललाई उपाध्यक्षको जिम्मेवारी दिन लागिएको हो। काठमाडौंमा भएको नेकपा एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेकी विद्या भण्डारी अहिले राष्ट्रपति भएकी छन्। विद्या राष्ट्रपति भएपछि रिक्त उक्त स्थानमा बादललाई लाने तयारी गरिएको हो।

त्यसैगरी एमालेले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट र खानेपानी मन्त्री मणि थापालाई सम्मानजनक स्थानसहित स्थायी कमिटीमा लैजाने तयारी गरेको छ। अन्य नेताहरुलाई पनि उनीहरुको भूमिका र जिम्मेवारी अनुसार नेतृत्वमा लैजाने तयारी गरिएको हो। 

साविकको पार्टी कायम भएपछि माओवादीबाट आफ्नो समूहमा आएका नेताहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका थिए। ओलीले ओली समूहमा आएका माओवादी केन्द्रका नेताहरुसँग परामर्शका लागि नेताहरु परिचालित गरेका थिए।



माओवादी केन्द्रबाट आएपछि एमाले नेतामा परिणत भएका गृहमन्त्री 'बादल’सहितका नेता तथा मन्त्रीहरुसँग ओलीले खटाएका नेताहरुले आफ्नै पक्षमा राख्ने गरी छलफल बढाएका थिए। उनीहरुले बढाएको छलफलले मूर्त रुप लिएको स्रोत बताउँछ।

बालुवाटारमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले माओवादीबाट आएका नेताहरु बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतसँग मंगलबार वार्ता गरेका थिए। त्यसपछि बादललाई उपाध्यक्ष र अन्य तीन नेतालाई स्थायी कमिटीमा लैजाने प्रक्रिया अघि बढाइएको हो। 



नेकपा विभाजनसँगै केन्द्रदेखि तलसम्म माओवादी केन्द्रका नेता कार्यकर्ता ओली पक्षमा लागेकाले उनीहरूको व्यवस्थापन सम्मानजनक रुपमा गर्न लागिएको हो। ओलीले अन्य नेताहरु पनि एमालेमा आउन लागेकाले उनीहरुको व्यवस्थापनमा पनि विशेष ख्याल गर्न निर्देशन दिएको स्रोत बताउँछ।

नेकपा एमालेको विधानमा अन्य पार्टीबाट आउनेका लागि २० प्रतिशतसम्म केन्द्रीय सदस्य बनाउने व्यवस्था छ। त्यही अनुसार नै अहिले माओवादी केन्द्रका नेता तान्ने रणनीति एमालेले अख्तियार गरेको हो। 

  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १४:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया