डोटीमा नेकपा एमालेको दुई समूहले छुट्टाछुट्टै पार्टी कार्यालय स्थापना गरेका छन् ।
मंगलबार माधव पक्षका नेता–कार्यकर्ताले तत्कालीन नेकपाको पार्टी कार्यालयमा एमालेको कार्यालय स्थापना गरेका थिए । दुई पार्टी एक हुनुअघि पनि एमालेको कार्यालय सोही भवनमा थियो ।
तर, बुधबार अध्यक्ष केपी ओलीनिकट समूहले पुष्पलाल स्मृति भवनमा नेकपा एमालेको साइनबोर्ड राखेको छ । बुधबार संविधानसभा सदस्य गौली ओलीले रिबन काटेर कार्यालय उद्घाटन गरिन् ।
कार्यक्रममा ओली समूहका नेकपाको केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायत नेता–कार्यकर्ता सहभागी थिए ।
०६९ सालमा सम्पन्न एमालेको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा चक्रबहादुर मल्ल र सचिवमा रामबहादुर ऐर निर्वाचित भएका थिए । एमाले र माओवादी एकीकरण भई बनेको नेकपाका पनि अध्यक्ष रहेका मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको भन्दै माधव–प्रचण्ड समूहलाई साथ दिए ।
मल्ल अर्को गुटमा गएपछि ओली पक्षले साबिकको एमालेका जिल्ला सचिव ऐरलाई अध्यक्ष बनाएको थियो । जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका ऐर नेकपामा जिल्ला कार्यदलका सदस्य थिए ।
माओवादीले पनि खोल्यो कार्यालय
डोटीमा बुधबार नेकपा माओवादी केन्द्रले पनि पार्टी कार्यालय स्थापना गरेको छ ।
दीपायल सिलगढी नगरपालिका–६ मल्लोबजारमा पार्टी कार्यालयको उद्घाटन माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य कमल गड्सिला ‘एनान’ले गरेको जिल्ला कमिटी सदस्य भरत बोहराले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।