मेक्सिकोमा पास भयो गाँजाको प्रयोग खुलाउने विधेयक

मेक्सिकोले गाँजामा लगाएको प्रतिबन्ध सम्बन्धमा ऐतिहासिक विधेयक पास गरेको छ । उक्त विधेयक पास भएसँगै अब मेक्सिकोमा गाँजाका प्रयोग वैध भएको छ । 

अमेरिकी मुलुक मेक्सिकोको तल्लो सदनले गाँजाको प्रयोग खुलाउने गरी विधेयक पास गरेको हो । मेक्सिकोको हाउस अफ कंग्रेसले बुधबार पारित गरेको विधेयकअनुसार अब मेक्सिकोमा गाँजाको प्रयोगलाई अपराध मानिने छैन ।

नयाँ विधेयकअनुसार अब मेक्सिकोमा मनोरञ्जनसँगै मेडिकल तथा वैज्ञानिक प्रयोगमा गाँजालाई उपयोग गर्न पाइनेछ । गाँजा खुला गरेपछि मेक्सिको गाँजाको लागि अब विश्वकै ठूलो बजार बन्ने भएको छ ।

गाँजामाथिको प्रतिबन्ध फुकाउने राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओर्बाडोरको प्रशासनले ल्याएको उक्त विधेयकलाई तल्लो सदनले अत्यधिक बहुमतले पारित गरेको हो । तल्लो सदनमा सांसदहरूले ३१६ मतसहित विधेयक पारित गरेका हुन् । उक्त विधेयकको विपक्षमा १२७ मत परेको थियो । 

तल्लो सदनबाट पारित भएको उक्त विधेयक अब माथिल्लो सदन सिनेटले पनि पारित गरे मेक्सिकोको कानुनको रूप लिनेछ र लागु हुने छ । सिनेटमा पनि सत्तारूढ पार्टीको बहुमत भएकाले विधेयक सहजै पारित हुने अवस्था रहेको छ ।

यसअघि सन् २०१३ मा दक्षिण अमेरिकी मुलुक उरुग्वेले गाँजाको उत्पादन र वितरणलाई वैध बनाएको थियो । त्यहाँका अर्जेन्टिना, चिली, कोलम्बिया र पेरूले पनि मेडिकल प्रयोगका लागि गाँजालाई वैध गरेका छन् । सन् २०१८ मा क्यानडाले पनि गाँजाको प्रयोगलाई अनुमति दिएको थियो ।





  • प्रकाशित मिति : फागुन २७, २०७७ बिहीबार ८:४४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया