सांसद-मन्त्री पद गएर केही हुँदैन, केपी ओलीको साथ छाडिन्‍न : टोपबहादुर रायमाझी

नेकपा एमाले नेता एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले बोकेको विचार र सिद्धान्तलाई त्याग्न नसकिने बताएका छन्। 

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 'अब गुटलाई होइन, विचार र राजनीतिलाई प्रमुख बनाउने हो। हाम्रा लागि सांसद पद गुमाउनु ठूलो होइन तर विचार र राजनीतिलाई केन्द्रमा राखेर जान्छौँ', उनले भने, 'हामी संसद गुमाउन तयार भयौँ तर विचार र राजनीति छाड्दैनौँ। अब समूह रोज्ने व्यक्ति विचार या राजनीति रोज्ने भन्ने कुरा मूल हो। त्यसैले हामी केपी शर्मा ओलीले लिएको विचार छाड्दैनौँ।'

प्रधानमन्त्री ओलीले लिएको कार्यदिशा राष्ट्रियता र स्वाभिमान विकास र समृद्धिका लागि भएको उनले बताए। 'यसलाई अंगाल्नु आजका नेता कार्यकर्ताको जिम्मेवारी हो। पद प्रतिष्ठा भन्दा ठूलो कुरा विचार र राजनीति हो', उनले थपे, 'विचार र राजनीतिलाई साथ दिएपछि मन्त्री र राजनीतिक पद त फेरि आइरहन्छन्।'

उनले आफूले समातेको विचारप्रति गर्व रहेको बताए। 'मैले जे बिचार समातेँ, मलाई त्यसमा गर्व छ। टोपबहादुर रायमाझीहरू कहिले मागेर मन्त्री भएका छैनन्', उनले अगाडि थपे, 'दुईचार पटक मन्त्री भइयो तर कसैसँग मागेर होइन।'

उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतिर लागेका केही नेताहरुले मन्त्री पद त्यागेपछि घरमै आगो लगाउन खोजेको बताए। 'उहाँहरुले जब मन्त्री छाड्नु भयो तब घर नै ढालेर आगो लगाउन खोज्नु भयो', उनले थपे, 'घरमा आगो लागिरहेका बेला निभाउने कि सडकमा जाने?'

अब एमाले झन् बलियो बन्ने पनि उनले बताए। 'अब पार्टी एकीकृत र अझै बलियो बन्छ। सर्वोच्चको निर्णयले हामी पछि फर्कियौँ', उनले भने, 'राजनीतिले मानिसहरुलाई उथलपुथल बनाइरहन्छ। अफ्ठ्यारो अवस्थामा मानिसको पहिचान हुन्छ। यो अवस्थामा हामी केपी ओलीको साथ छाड्दैनौँ।'



भिडियो



  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार १४:३७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया