जसपा नेताबीच चर्काचर्की : उपेन्द्रले महन्थलाई दिए ‘दादा’ को संज्ञा
दलको नेतामा चारै शीर्ष नेता आकांक्षी

नेकपा विभाजनको सर्वोच्च अदालतको फैसलापछि राजनीतिक दलहरुबीच सरकार टिकाउने÷ढाल्ने खेल सुरु भएको छ। सत्तारुढ दल नेकपा एमालेदेखि माओवादी केन्द्र, प्रमुख प्रतिपक्ष कांग्रेस र जसपा पनि यो खेलमा सक्रिय छन्।

सत्तारुढ दल एमाले जसपाको समर्थन लिएर सरकार टिकाउने खेलमा छ भने माओवादी केन्द्रले जसपालाई समेटेर नेपाली कांग्रेसलाई समर्थन गरी प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई विदा गर्ने योजना बनाएको छ।

सर्वोच्च अदालतको फैसला अनुसार एमाले र माओवादी पुरानै अवस्थामा फर्किएपछि राजनीति एकाएक तातेको हो। खासगरी जसपा अहिले सबैको केन्द्र बनेको छ। नेकपा विभाजनपछि कसैसँग बहुमत नपुग्ने भएकाले अंक गणितीय हिसाबमा जसपा फेरि निर्णायक बनेको हो।

अहिलेको अवस्था जसपाको सहयोगबिना कसैले सरकार बनाउन र टिकाउन सक्दैनन्। त्यसैले जसपालाई फकाउन सत्तारुढदेखि प्रतिपक्षी पनि कम्मर कसेर लागेका छन्। दिनहुँ जसपाका नेतासँग एउटा न एउटा पार्टीले फकाउने कोसिस गरिरहेका छन्।

बाक्लो भेटघाट

पछिल्लो घटनाक्रम हेर्ने हो भने प्रधानमन्त्री ओलीले पहल थालेको देखिन्छ। उनकै प्रस्तावमा जसपा अध्यक्ष महन्थ ठाकुरले दुई सदस्यीय कार्यदल बनाए। यता प्रधानमन्त्री ओलीसँग भेटवार्ता सकारात्मक रहेको सूचना पाएपछि कांग्रेसले पनि संवाद थाल्यो। 



यो भेटको २४ घण्टा नबित्दै माओवादी केन्द्रले शनिवार जसपा नेताहरुसँग छलफल गर्यो। बाहिर ठूला दलसँग भेटिरहेको जसपा भित्रैको शक्ति संघर्ष भने भुसको आगो झैँ फैलिरहेको छ। जसपाका शीर्ष नेताहरु आफैँ सरकारमा जान तम्सिँदा शक्तिको लडाइँ गम्भीर मोडमा पुगेको छ।

आन्तरिक कलह



सरकारमा गएर आफ्ना मुख्य तीन बुँदे माग सम्बोधन गराउने रणनीति बुनेका जसपा आफैँ भने भयंकर आन्तरिक कलहमा फसेको छ। एउटा खेमाले सरकारसँग छलफल गर्न दुई सदस्यीय कार्यदल बनाएको छ भने अर्को प्रतिवादमा उत्रिएको छ। 

प्रधानमन्त्रीले भन्नासाथ जसपामा तीन सदस्यीय कार्यदल बन्यो। त्यही रणनीति अनुसार जसपा अध्यक्ष ठाकुरले आफूनिकट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णको नेतृत्वमा कार्यदल बनाए। त्यसमा पुरानो समाजवादीको तर्फबाट एकजनाको नाम दिनुपर्ने थियो, तर सहमति अनुसार कसैको नाम आएन। 

त्यसैले तत्कालै दुई जनाको नाम ल्याएर एक जनाको ठाउँ खाली राखियो। जुन आजसम्म खाली नै छ। अर्थात पुरानो समाजवादीको तर्फबाट कार्यदलमा कसलाई पठाउने नाम अझै टुंगो लागेको छैन।

बैठकमा चर्काचर्की 

यहीबीचमा जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार संसदीय दल राख्यो। स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम तथा कार्यदलमा थप एकजनाको टुंगो लगाउन बसेको जसपा संसदीय दलको बैठक भने बिनानिष्कर्ष सकियो। साथमा बैठकमै नेताहरुबीच चर्काचर्की समेत भयो। स्रोत भन्छ, ‘दुइटै अध्यक्षबीच बैठकमै  जुहारी चल्यो।

शुक्रबार विवादको सुरुवात यसरी हुन्छ। बैठकमा अनेकन छलफलपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवसँग कार्यदलमा राख्ने नेताको नाम मागे। त्यहीबेला अध्यक्ष यादवले ठाकुरलाई भने, ‘तपाईँ जस्तो दादा हो र म, कसैसँग छलफल नै नगरी नाम पठाइदिन? म पद्धतिमा चल्छु, सबै नेतासँग सल्लाह गरेर नाम दिन्छु।’ 

यादवले दादा भन्नासाथ अध्यक्ष ठाकुर कड्किए, ‘उसो भए म दादा हुँ, ल ठीक छ, तपाईँ जानुस्!’ स्रोतका अनुसार यही विवाद भएपछि बैठक पनि बिनानिष्कर्ष सकियो।
बैठक हलमा चर्को विवाद भए पनि बाहिर भने विधान मस्यौदाबारे छलफल गरिएको अध्यक्ष यादवले बताए। जसपा संसदीय दलको नेता बन्न अहिले चारै शीर्ष नेता आंकाक्षी छन्। 

स्रोतका अनुसार अध्यक्षद्वय ठाकुर र यादवसहित डा. बाबुराम भट्टराई र राजेन्द्र महतो दलको नेता बन्न इच्छुक छन्। जसपा गठन भएको दुई वर्ष भइसक्दा पनि संसदीय दलको नेता छान्न सकेको छैन।

  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार २०:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया