चैत २ गते सोमबारका लागि तय भएको प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित भएको छ । सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठकका लागि तोकिएको मिति फेरि स्थगित भएको हो ।
सभामुख प्रदीप भण्डारीले सूचना निकाले भोलि सोमबारका लागि डाकिएको बैठक विशेष कारणले स्थगित गरेका छन् । प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले सूचना जारी गर्दै बैठक रोकिएको जानकारी दिएका हुन् ।
यसअघि सत्तारुढ नेकपामा विवाद देखिएको समयमा प्रचण्ड-माधव समूहले ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि प्रदेशसभा निरन्तर स्थगित हुँदै आएको छ ।
सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले नेकपा खारेज गरी साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइ दिएपछि एमालेको बहुमत रहेकाले सरकार सुरक्षित भएको बताइए पनि एमाले भित्रकै अन्तरकलह अहिले निकै बढेको छ ।
जसको प्रभावमा प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।