नाटकमा देखाइएको पारिवारिक बिछोडले रोयो दर्शकको मन

लगनखेल बसपार्कको भित्रि चौतारो । शनिबार मध्याह्न १२ बजे नै अँध्यारो भएर धुम्मिएको मौसम । बसपार्क वरपरको फुटपाथमा छरिएर बसेका व्यापारी । यही भीडबाट आवाज निस्कियो ‘बालबिछोड रोकौँ’ । चौतारीमा राखिएको स्पिकरले त्यही आवाज बारम्बार दोहोर्‍याइरह्यो । गुड्दै गरेका गाडी रोकिए । पर-पर पसल थापेर बसेका व्यापारी स्पिकर नजिकै आए ।

यही भिडमा गीत गाउँदै मिसिन आइपुगे गाडीको स्टेरिङ घुमाएर परिवार पालिरहेका ड्राइभर । उनले गाएको गीत उनकी श्रीमतीलाई मन परेन । खासमा उनकी श्रीमतीलाई श्रीमानको पेसा नै मन परेको छैन । उनी श्रीमान विदेशमा गएर राम्रो पैसा कमाएर देश फर्किएको हेर्न चाहन्छिन् । उनीहरुका ६ वर्षका एक छोरा छन् ।

उनका श्रीमानलाई छोरा छोडेर विदेशिने मनै छैन । तर, श्रीमतीको हठको अगाडि उनको केही लाग्दैन । छोरालाई अनाथ आश्रममा छोडेर उनीहरु विदेशिने बाटोमा हुन्छन् । त्यसपछि उनीहरुको केही खबर आउँदैन । ६ वर्षसम्म उनीहरु कहाँ के गर्दैछन् कसैले केही पत्तो पाउँदैन ।

यसको ठ्याक्कै ६ वर्षपछि जागिरे श्रीमान् श्रीमतीका एक छोरा सोही होस्टलमा पुग्छन् । उनीहरु दुवैलाई होस्टल मन परेको हुँदैन । दुई साथी मिलेर होस्टल छोडेर भाग्ने प्लान बनाउँदै गर्दा जागिरे श्रीमान् श्रीमती छोरो भेट्न होस्टल पुग्छन् र रोक्छन् । बाबु छोराको भनाभन चल्छ । नाटकबीचैमा रोकिन्छ ।

दर्शक दिर्घामा रहेका सहभागीलाई प्रश्न गरिन्छ, ‘यो परिवारको समस्या समाधानको लागि के गर्नु पर्छ ?’ जो प्रश्नोत्तरमा सहभागी भए सबैले छोरालाई घरै लगेर आमा–बुवासँग राख्नु पर्छ भन्ने जवाफ दिए । नाटक सोही अनुसार अगाडि बढ्छ । घर जाने खुसीमा छोराका आँखाबाट आँसु झर्छन् । छोरा आफूसँगै लैजाने खुसीमा आमाका आँखाबाट आँसु बहन्छन् । यो दृष्य हेरिरहेका धेरै दर्शकका आँखा रसिला देखिन्छन् ।



२ बालकको समस्यामा मञ्चन भइरहेको नाटकबाट एउटा बालकको समस्या समाधान  हुन्छ । अर्का बालक त्यहीँ टोलाइरहेका देखिन्छन् । सूत्रधारले फेरि प्रश्न गर्छन्, ‘यी बालकको समस्या समधानका लागि कस्ले के गर्नु पर्छ ?’ सहभागीले जवाफ दिन्छन् भए परिवार नभए स्थानीय निकायले बालकका परिवारका खोजी गर्नु पर्छ ।

नाटकमा त्यसै गरिन्छ । लामो समयपछि आफ्ना बा–आमालाई भेट्दा पनि बालकले बा–आमालाई चिन्दैनन् । तीनैजना रुन्छन् । दर्शकका आँखा पुनः एकपटक रसाउँछन् । कचहरी नाटक ‘बाल बिछोड रोकौँ’ यहीँ सकिन्छ ।



नेपालको कानुनले १८ वर्ष मुनिका बालबालिकालाई आमा–बुवाबाट टाढा राख्न पाइँदैन भनिएको छ । तर, विभिन्न कारणले बालबालिकाहरु सानैमा पारिवारिक बिछोडमा पर्ने क्रम बढ्दो छ । यही बढ्दो क्रमका कारण बालबालिकामा विभिन्न खाले समस्या देखा पर्ने गरेका छन् । एकातिर गरिबीका कारण सानैमा अभिभावकबाट छुटिने अवस्था छ । अर्कोतिर उच्च खानदानी परिवारका बालबालिका परिवारको सामाजिक प्रतिष्ठा र समय अभावका कारण परिवारबाट छुटेर होस्टलमा पुगिरहेका छन् ।

नाटकमा यी दुवै वर्गका पारिवारिक बिछोडमा परेका बालबालिकाको अवस्था सशक्त रुपमा चित्रण गरिएको छ । कचहरी नाटक ‘बाल बिछोड रोकौँ’ सिविसले शैली थिएटरसँगको सहकार्यमा २ दिनसम्म काठमाडौं उपत्यकाका विभिन्न सडकमा प्रदर्शन गर्‍यो । काठमाडौंको टोखा, नयाँ बसपार्क,  स्वयम्भू, र ललितपुरको लगनखेल तथा मंगल बजारका सडकमा प्रदर्शन गरियो । आफ्ना छोराछोरी होस्टलमा राखेर काममा निस्किएका महिला प्रहरी तथा अन्य काम व्यवसायमा आबद्ध मानिसहरुले आफ्नो अवस्था र बाध्यताका बारेमा समेत बताएका थिए ।

नाटकमा लेखन तथा निर्देशन सुवास सुवेदीले गरेका थिए । उनले पछिल्लो समय बाल बिछोड क्रम निक्कै बढेको उल्लेख गरे । आफूले नाटकमार्फत दुई भिन्दा भिन्दै पारिवारिक पृष्ठभूमिबाट बिछोडिएका बालकको मनोविज्ञानलाई देखाउने कोसिस गरेको बताए ।

पदम र संस्कार त उदाहरण मात्र हुन् । समाजमा विभिन्न बहानामा बालबालिका आमाबाबुबाट छुट्टिने गर्दछन् । पछिल्लो समय कोरोनाको कारण धेरैले आफ्नो रोजगारी गुमाउनु परेको छ ।  यस्तोमा निम्न आर्थिक स्थिति भएका परिवारका बालबालिका अभिभावकबाट बिछोडिने सम्भावना उच्च देखिन्छ । बालबालिका ओसार-पसार गर्ने गिरोह यस्तै बेला सक्रिय हुने गर्छन् । गरिबीको फाइदा उठाउँदै अभिभावकलाई आर्थिक प्रलोभन देखाएर धेरै बालबालिका आमाबाबुको काखबाट टाढा भएका प्रशस्त उदाहरण छन् ।

यही परिस्थितिलाई मध्यनजर गरी आफूहरुले कचहरी नाटक ‘बाल बिछोड रोकौँ’ देखाएको शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । उनले भने, ‘दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया पाएकाले हामी निकै उत्साहित भएका छौँ ।’ यो नाटक केही दिनपछि धादिङ जिल्लामा  समेत लिएर जाने योजना रहेको उनले बताए ।

नाटक हेरिसकेपछि टोखा न.पा. वडा ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठले भने, ‘नाटक एकदमै समयसापेक्ष रहेछ । हाम्रो समाजमा यस्ता घटना विभिन्न बहानामा बढिरहेका छन् । हामीकहाँ पनि यस्ता समस्या हुन सक्छन्, त्यसैले हाम्रो वडामा बालबालिका को समस्या सुन्नका लागि बाल क्लबको स्थापना गरेका छौं । बाल क्लबमा आएका जुनसुकै समस्यालाई स्थानीय निकायले सुनुवाइ गर्ने गरेको छ । बाल बिछोड सम्बन्धमा हामीले पनि ध्यान दिइरहेका छौं ।’

कचहरी नाटक ‘बालबिछोड रोकौं’मा सरस्वती अधिकारी, रविन तामाङ, सगुन पोख्रेल, पुष्प अवस्थी, रुपक काफ्ले र निर्भीक भट्टराईले अभिनय गरेका थिए । सुवास सुवेदीले सूत्रधारका रुपमा दर्शकसँग अन्तरक्रिया गर्दै बिछोड भएका बालबालिकाको समस्याको समाधान गर्ने उपाय खोजिरहेका थिए ।

  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार १४:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया