सफ्टवेरिका कजेलका विद्यार्थीले बनाएको ‘ड्राइभरलेस’ गाडी

डिल्लीबजारस्थित सफ्टवेरिका कलेजमा अहिले ४ दिने दोस्रो ‘आइओटी’ प्रदर्शनी चलिरहेको छ । गत शुक्रबार सुरु भएको आइओटी मेलामा कलेजमा स्नातक तह अध्ययनरत विद्यार्थीहरुले कम्प्युटिङ सोलुसनमार्फत दैनिकी सजिलो बनाउने नयाँ–नयाँ आविष्कार तथा विचारको प्रदर्शन गरिरहेका छन् । 

प्रदर्शनीका लागि अटोनोमस भेहिकल, स्मार्ट ह्विलचेयर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैँचा, स्मार्ट सिटी, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहोर व्यवस्थापन, अटोनोमिस पियानो, रोबोट लगायत ३० वटा प्रोजेक्टको नमुना तयार गरिएका छन् ।

सबै आविष्कार र अवधारणहरु उत्तिकै प्रविधिमय र विशेष सुविधासहितका छन् । त्यसमा पनि ‘अटोनोमस भेहिकल’ मेलाको प्रमुख आकर्षण बनेको छ । कारण, यो गाडी ‘ड्राइभरलेस’ हुनु । विद्यार्थीहरुले बनाएको यो गाडी चालकबिनै चलाउन सकिन्छ । 

हामी मेला अवलोकनका लागि शनिबार कलेजमा पुग्दा यो गाडी राखिएको ठाउँमा अवलोकनकर्ताको भीड थियो । यो गाडी र यसका विशेषताबारे बुझ्न अवलोकनकर्ताहरु निकै लालायित देखिन्थे। 



गाडी वरपर झुम्मिएका अवलोकनकर्तालाई गाडीबारे बताइरहेका थिए, २३ वर्षीय विपश छन्त्याल । 

‘हामीले निर्माण गरेको सफ्टवेयर परिक्षणका लागि सुरुमा हामीले एउटा सानो गाडीमा प्रयोग गर्यौँ ।’ गाडीतर्फ देखाउँदै विपशले भने । 



सानो गाडीमा गरिएको परिक्षण सफल भएपछि उनी र उनका साथीहरु परिक्षणलाई बिस्तार गर्न हौसिए । १० जनाको समूहले सबैभन्दा पहिला एउटा गाडीको हार्डवेयर निर्माण गर्यो ।

केही साताको अहोरात्र खटाइपछि गाडीको ‘बडी’ तयार भयो । गाडीको हुलियाले जुन रुप प्राप्त गरेको थियो, त्यसलाई देखेर अझ हौसिए उनीहरु ।

‘त्यसपछि हामीले सानो गाडीमा प्रयोग गरेको त्यही सफ्टेवर नयाँ गाडीमा राख्यौँ र परिक्षणलाई अगाडी बढायौँ ।’ उनले सुनाए । 

पहिलो प्रयासमा उनीहरु सफल भएनन् । उनीहरुले सोचेअनुरुप नतिजा आएन । त्यसपछिका धेरै प्रयासहरु पनि विफल भए । 

‘देखिएको समस्या समाधान गथ्र्यौँ, त्यसको अर्को दिन फेरि अर्को समस्या देखिन्थ्यो’ विपसले सुनाए । आफ्नो कामको चर्चा गर्न पाउँदा जोकोही गद्गद् हुन्छ, जोकोही हौसिन्छ । विपश पनि आफूहरुको कामबारे सुनाउँदा खुसी थिए । 

मुस्काराउँदै उनले अगाडि भने, ‘हामीले हिट एण्डा ट्रयाल गर्न भने रोकनौँ । प्रयास जारी नै राख्यौँ ।’ 

तीन महिनाको अहोरात्र मेहनतपछि उनीहरुको कन्सेप्ट सफल भयो । यस बीचमा उनको टिमले कलेजका अन्य विद्यार्थी तथा शिक्षकबाट पनि निरन्तर सहयोग र प्रेरणा पाए । उनीहरुले सबैभन्दा धेरै सहयोग  कलेज इन्चार्ज तथा शिक्षक मनोज श्रेष्ठबाट प्राप्त गरे । श्रेष्ठले उनको समूहलाई हरेक स्टेपमा गाइड गरे। 

चालकबिनै चल्ने यो गाडी विशेष सुविधासहितको त छ नै, यो गाडी वातावरणमैत्री पनि छ । यो गाडी विजुलीमार्फत चल्छ । यसमा चार वटा ब्याट्री प्रयोग गरिएको छ । गाडी एक पटकको चार्जले करिब चार घण्टासम्म गुड्छ भने पूर्णरुपमा चार्च हुन ५ देखि ६ घण्टासम्म लाग्छ । 

उनको समूह यसलाई अझ सहज र सुविधायुक्त बनाउने प्रयासमा निरन्तर लागिरहेका छन् । सकेसम्म छिटो चार्ज हुने ब्याट्री र प्रविधिको आविष्कारको प्रयासमा छन् उनीहरु । 

‘यो गाडी पहिलो चरणमा छ । हामी यसलाई हरेक दिन सहज र एड्भान्स बनाउने प्रयासमा लागिरहेका छौँ ।’ विपशले गाडीबारे ब्रिफिङ गरे । 

यो गाडी अहिले नै अटोनोमस अर्थात डराइभरलेस भइसकेको छैन । यसलाई चलाउने ‘ट्याबलेट’ को प्रयोग गरिन्छ । यसमा अहिले ‘स्टेयरिङ रकेर्ड’ गर्ने सुविधा भने छ । 

‘आफूलाई पुग्नुपर्ने ठाउँसम्मको सम्पूर्ण विवरण यसमा रेकर्ड गर्न सकिन्छ ।’ उनले भने । 
चलाउँदा गेयर हान्नु नपर्ने यो भेहिकलमा अगाडी पछाडि गरेर तीनवटा सेन्सर क्यामेराको प्रयोग गरिएको छ । सबै क्यामेराले आफूवरपरका चिज दख्ने मात्रै नभई आफ्ना लागि के खतरा छ भन्ने पनि पहिल्याउन सक्छ । 

प्रदर्शनीको पहिलो दिन शुक्रबार राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुन अवलोकनका लागि आएका थिए । पुनले उनीहरुको यो कन्सेप्टलाई मूर्तरुप दिन आफूले सकेको सहयोग गर्ने आवश्वान दिएका छन् । 

विपश र उनका साथीहरुलाई पुनबाट पाएको आश्वासनले उर्जा मिलेको छ । खुसी पनि छन् निकै । 

काठमाडौंमा जन्मे–हुर्केका विपश सानैदेखि एकदमै जिज्ञासु स्वभावका थिए । उनी आफ्ना घरमा भएका हरेक विद्युतीय उपकरणहरुलाई घरमा कोही नभएको मौका पारेर खोलखाल पार्थे र कसरी बनेको छ भनेर हेर्थे । 

विज्ञान र प्रविधिका विषय उनलाई बुझ्न मन लाग्थ्यो । उनी अधिकांश समय केही न केही सोचिरहन्थे । अधिकांश समय उनी कल्पनाको लोकमा जिज्ञासाको उडान भरिरहेका हुन्थे । उनको यो बानि दिनदिनै बढ्दै जान थाल्यो । कल्पनाको संसारमा उडान भर्नु आफ्नो रुचिमात्र नभएर सपना नै हो भन्ने थाहा पाएपछि उच्च शिक्षामा आइटी नै पढ्न थाले उनी । 

अटोनोमस गाडी बनाउन पनि उनको जिज्ञासु स्वभावले नै ‘ड्राइभ’ गरेको हो। विश्वविख्यात कम्पनी टेस्लाको अटोनोमस मोटर देखेर उनी निकै प्रभावित भएका थिए । 

उनी हरेकपल्ट सोच्न र अध्ययन गर्न थाले– ड्राइभरबिनै गाडी कसरी चल्छ होला ? उनको मगजमा यो प्रश्नले हरपल आतंक मच्याउन थाल्यो । 

‘मैले यो जिज्ञासा आफ्ना साथीहरुसँग पनि सेयर गरेँ’, उनले सुनाए, ‘साथीहरुले पनि यसमा रुचि देखाउन थालेपछि हामीले काम नै गर्ने सोच बनायौँ।’

उनी अहिले स्नातक अन्तिम वर्षमा अध्ययनरत छन् । आफ्नो सम्पूर्ण जीवन आइटीमा समर्पण गरिसकेका छन् उनले । उनका धेरै योजना र सपनाहरु छन् । उनको अहिलेको सपना हो– यो गाडीलाई पूर्णरुपमा ड्राइभरलेस बनाउने । 

‘हामीहरु हरेक दिन यसलाई एड्भान्स बनाउने प्रयासमा छौँ,’ उनले भने, ‘देखिएका समस्याहरु फिक्स गर्दै अगाडि बढिरहेका छौँ ।’

योजनाले शतप्रतिशत मूर्तता पाएर उत्पादनमा जान कति समय लाग्ला त ?
विपशसँग आफ्नो प्रश्नको ठोस उत्तर छैन । 

‘यति नै समयमा काम यो योजना सफल होला भन्ने सकिने स्थिति छैन,’ उनी मुस्कुराए, ‘हामी निरन्तर रुपमा रिसर्चमा छौँ।’

अबका चरणहरु अझै कठिन हुने उनको बुझाई छ । उनी भन्छन्, ‘डेभलोपमेन्टभन्दा इम्प्लिमेन्टेसन सधैँ गाह्रो हुन्छ।’

  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार १५:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया