कोइलाखानीका मजदुरको पीडा : बाँचे पचास, पुरिए सखाप

‘सुख त के हुँदो हो । राम जप्दै भित्र छिर्ने हो, राम जप्दै निस्किने हो । कहिले सास फेर्न धौ हुन्छ, कहिले खानी भत्किन्छ, ज्यानको माया मारेर पस्ने हो, ज्यानै माया मारेर निस्किने हो,’ बंगलाचुली गाउँपालिका वडा नं. २ फलिटेका ४३ वर्षीय टोपबहादुर विकले कोइला खानीमा पाकेको जीवन र जलेका मनका पीडालाई यसरी पोखे । 

‘कतिबेला भत्किन्छ र पुर्छ, त्यो थाहा हुँदैन । तै पनि पापी पेटका लागि खानी छाड्न सकिएको छैन । जवानीमै खानीभित्र पसेको हुँ अझै निस्किन पाएको छैन,’ आफ्नो जीवनकहानी सुनाउँदै उनी भन्छन्, ‘निस्केर पनि के गर्नु भोको पेट भर्ने उपाय केही छैन, खाए पनि खानीले खाला भन्ने लाग्छ । दुःख त खानीको सुनाइसाध्य छैन ।’

 

विकले ०५३ सालदेखि गाउँकै कोइला खानीमा दिन बिताइरहेका छन् । कमजोर आर्थिक अवस्थाका विकको घरपरिवारको जीवन खानीले नै धानेको छ । जसका कारण दुःख–सुख उनले खानीमा बिताइरहेका छन् । उनले थपे– ‘दुईचारजना साथीभाइ त खानीमै पुरिएर मरिसके, भला भाग्यले मलाई केही भएको छैन । हुन पनि नहोस् भगवानसँग यही प्रार्थना छ मेरो ।’ 

आधा उमेर खानीमै बिताएका विक भगवान् भरोसामै बाँच्दै आइरहेका छन् । आर्थिक अभावका कारण जोखिम मोल्दै खानीमा पस्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । मजदुरहरुको जीवनरक्षाका लागि खानी मालिकदेखि सरकारसम्मले सुरक्षाका उपाय दिन नसक्दा अकालमै खानी मजदुरहरुले जीवन गुमाउनुपरिरहेको दुखेसो उनले सुनाए । 

‘बाहिर आए पचास, भित्र पुरिए सखाप’



उनले कोइलाको बोरासँगै बाहिर निस्किए ५० रुपैयाँ पाउँछन्, बोरासँगै भित्र पुरिए जीवन त सकियो नै घरपरिवारका लागि पनि केही व्यवस्था हुन्न । ‘दयालु साहु परे बालबच्चाका लागि दुई–चार पैसा हेर्छन्, नभए त्यो पनि छैन,’ सुस्केरा हाल्दै उनले भने, ‘यो सोच्दा मन धेरै जल्छ, कोइलाजस्तै मन कालो हुन्छ । तर, हाम्रा लागि कसैले केही सोच्दैनन् ।’ 



न सुरक्षा, न सहजता छ, न जीवनपछि बालबच्चाको भविष्य नै छ । तैपनि काम गर्नैपरेको उनको गुनासो छ । उनीजस्तै यसरी नै खानीम काम गर्ने धेरैलाई खानीले खायो, आफूलाई पनि कतिबेला खाने हो पत्तो छैन । उनी भन्छन्, ‘हामीलाई खानीले खाए, हाम्राले के खाने हुन् भन्ने चिन्ता लाग्छ ।’ 

खानीका मजदुरका लागि जीवन सुरक्षाका लागि कसैले केही गर्न नसक्दा यिनै पीडा बोकेर बाँच्नुपरिरहेको उनले सुनाए । केही पेसा–व्यवसाय गरेको भए अहिलेसम्म जीवन केही फेरिन्थ्यो होला । तर, गरिबको थाप्लोको कोइलाको भारी र नाम्लो अझै छुटेको छैन । जसका कारण मनमा राम जप्दै खानी जाने–आउने चलिरहेको उनी सुनाउँछन् । 

‘न मूल्य, न सुरक्षा’

‘कालो कोइला खानीभित्र हाम्रा कपाल सेतै फुलिसके, न श्रमको मूल्य पाउँछौँ, न सुरक्षा छ,’ विक भन्छन्, ‘मरे पनि केही छैन, बाँचे पनि केही छैन ।’ 

कहिले खानी भत्किन्छ, कहिले अक्सिजन हुँदैन । ‘धन्न बाँचेका छौँ । ०५२ सालदेखि खानी पसिरहेको छु । जीवन अझै फेरिएको छैन,’उनले पीडा पोखे । 

उनी मात्र होइन, उनी जसरी नै खानीमा काम गर्ने सबैको एउटै पीडा छ । सोही गाउँका प्रवद्र्धन राईले प्रश्न गरे, ‘हामीले खानीको दुःख दाम र जीवनको सुरक्षा कहिले पाउछौँ ?’ खानीको काम जोखिमपूर्ण काम रहेकाले मजदुरहरुले श्रमको उचित पारिश्रमिक र जीवन सुरक्षाको खोजी गरिरहेका उनी बताउँछन् । अहिले ५० वर्षमा टेकेका राईको जीवन दुःख–सुख कोइला खानीले नै धकेल्दिरहेको छ । राई भन्छन्,‘जवानीमा खानी पसेको हुँ, कपाल फुलिसक्यो, अझै निस्कन सकेको छैन ।’ 

राईको आधा जीवन खानीमा कोइला खेलाउँदै बित्यो । सोलुखुम्बु स्थायी घर भएका राई २०–२२ वर्षको उमेरमा काम खोज्दै हिँडेका बेला फलाटेको कोइला खानी भेटे । कोइला खानीले काम मात्रै दिएन, उनको घरजम पनि गराइदियो । उनी अहिले मजदुरहरुलाई आफ्नो सीप पनि सिकाउँछन् । 

कतिपयले सिक्ने रहर गर्ने भएकाले आफूले जानेको सीप अरुलाई सिकाउँदै आइरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘नयाँ कामदार काम सिक्न मान्दैनन् । किनकि यो खानीको काम निकै अप्ठ्यारो हुन्छ ।’ खानीको काम निकै अप्ठ्यारो, असुरक्षित र न्यून पारिश्रमिकका कारण पनि खानीप्रति नयाँ पुस्ताको आकर्षण नरहेको उनी सुनाउँछन् । 

  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार १८:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया