संकटालाई हराएर मछिन्द्र सेमिफाइनलमा

हेटौंडामा जारी ‘स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को खेलमा ए डिभिजन लिग विजेता मछिन्द्र क्लब सेमिफाइनलमा पुगेको छ । पुलिसलाई हराएर क्वार्टर फाइनलमा पुगेको संकटालाई मछिन्द्रले सोमबार भएको खेलमा १–० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको २५ औं मिनेटमा मछिन्द्रका राजेश परियारले भली मार्फत् गरेको गोल नै निर्णायक बन्न पुगेको थियो । परियार आजको खेलका म्यान अफ द म्याच बन्दै १० हजार नगद प्राप्त गरेका थिए । मछिन्द्रले खेलमा निरन्तर दबाब राखे तापनि स्कोर भने बढाउन सकेको थिएन । विदेशी खेलाडीबिना मैदानमा उत्रिएको मछिन्द्रको डिफेन्स लाइन भने केही कमजोर देखिएको थियो ।

खेलपछि प्रतिक्रिया दिँदै संकटाका टिम म्यानेजरले आफ्नो टिममा खेलाडीहरूको गल्तीका कारण खेलमा स्कोर निकाल्न नसकेको बताएका थिए । उनले विदेशी खेलाडी समेत राम्रो प्रदर्शन गर्न नसकेको बताएका थिए ।

यस्तै विजेता मछिन्द्रको प्रशिक्षक प्रवेश कटुवालले आफ्नो टिमको खेलाडीले सोचे अनुसार नै खेलेको बताए । उनले आगामी खेलमा थप रणनीति तय गरेर खेल्ने बताएका हुन् । मछिन्द्रले फाइनल प्रवेशका लागि अब आयोजक रिगल रिसोर्ट मकवानपुर ११ सँग खेल्नेछ । यस्तै भोलि विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन र बागमती युवा क्लब सर्लाही खेल्ने छ ।





  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १९:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया