दलहरुलाई राष्ट्रपतिको आग्रह : संवाद गर्नुस्, सहकार्यलाई निरन्तरता दिनुस्
संवादबाट राष्ट्रिय एकता कायम गर्न अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलहरु एक पटक मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताएकी छन्। शीतल निवासमा मंगलबार बसेको सर्वदलीय बैठकमा आफ्ना कुरा राख्दै राष्ट्रपतिले यसो भनेकी हुन्। राष्ट्रपति भण्डारीले अहिलेको समस्याको निकास संवादबाटै निकाल्न पनि आग्रह गरेकी छन्। 

‘हाम्रो मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनु जरुरी छ’, उनले बैठकमा भनिन्। 

नेपालको राजनीतिक नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार देखाउँदै आएको उनको तर्क थियो। ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ’, उनले दलहरूलाई बैठकमा भनिन्, ‘यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ।’

राष्ट्रपतिले भारतबाट अतिक्रमित भूमिको नक्सा प्रकाशनमा जस्तै एकताको आवश्यकता अहिले पनि रहेको कुरामा जोड दिएकी छन्। 

‘नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेकी थिएँ’, उनले भनिन्, ‘सबै दलका नेताहरूप्रति त्यसका लागि आभार व्यक्त गर्दछु।’



उनले कोभिड–१९ को महामारी र त्यसको प्रभावबारे पनि दलहरूलाई कुरा राखेकी छन्। ‘कोभिड–१९ को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावबारे हामी सबै जानकार छौँ’, उनले अगाडि भनिन्, ‘यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदान ठूलो छ। सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले सरकारको अभियानमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिन्छु।’

राष्ट्रपतिले शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तन जस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई आग्रह गरेकी छन्। 



  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १८:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया