क्यामरुनको जितसँगै सेमिफाइनल समीकरण पूरा

हेटौंडामा जारी ‘स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को खेलमा सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार भएको अन्तिम क्वार्टर फाइनलमा विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन (अरास) ले बागमती युवा क्लब सर्लाहीलाई २–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफमा बागमती युवा क्लबले १–० को अग्रता सहित औषत प्रदर्शन गरे तापनि दोस्रो हाफमा (अरास) ले पूरै दबाबमा राखेको थियो । सर्लाहीका लागि विदेशी खेलाडी स्टेफन समिरले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा रक्षात्मक खेलेको बागमतीले खेलको ८९ औं मिनेटमा क्यामरुनका लागि बेससेकले जाली चुमाएपछि अग्रता गुमाएको थियो । अन्तिम समय लगातार गोल पोस्टमा प्रहार गरेको क्यामरुनले ९२ मिनेटमा लोइसले गोल गर्दै जित पक्का गरेका थिए ।

खेलपछि प्रतिक्रिया दिँदै बागमती युवा क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले टोलीले उत्कृष्ट प्रदर्शन गरे तापनि शारीरिक बनावट र नेपाली खेलाडीको होचो पनको फाइदा उठाएको बताए । उनले ८० मिनेटपछि खेलाडीहरू आत्तिएका कारण पनि क्यामरुनले स्कोर थपेको बताए । यस्तै विदेशी टोलीका म्यानेजर अशोक थापाले लगातार ५ हजार किमि हवाई यात्रा गरेर नेपाल आउँदा खेलाडीहरूले सोचे अनुसार खेल्न नसके तापनि स्कोर निकाल्दा खुसी भएको बताए । 

भोलि लिग विजेता मछिन्द्रले फाइनल प्रवेशका लागि अब आयोजक रिगल रिसोर्ट मकवानपुर ११ सँग खेल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उप विजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी ट्रफि सहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाइक प्राप्त गर्नेछन् ।





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १९:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया