ओलीको अडान : फेरि संसद विघटन हुन्छ, शीतल निवासमा कसले के भने?
रामचन्द्रसँग घोचपेच, मिलेर अघि बढ्न राष्ट्रपतिको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन हुन सक्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शीतल निवासमा आयोजना गरेको सर्वदलीय बैठकमा ओलीले ताजा जनादेशमा जानका लागि फेरि संसद विघटन हुन सक्ने बताएका हुन्।

मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रधानमन्त्री अ‍ोलीले संसद सहज ढंगले सुचारु नभए विघटनको बाटोमा जाने संकेत गरेका हुन् । दलहरुले संसद विघटनमा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएपछि उनले यस्तो संकेत गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ र ८५ अनुसार संसद विघटन गरेर ताजा जनादेशमा जानु परेको बताउँदै पुस ५ को आफ्नो कदमको बचाउ गरेका थिए। 

फागुन ११ मा पुन:स्थापित प्रतिनिधिसभा फागुन २३ गतेदेखि सुरु भएको थियो।  तर त्यसयता बसेका तीनवटै बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भइरहँदा ओलीले यस्तो बताएका हुन्।

बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालका अनुसार पुस ५ को कदमको बचाउ गर्दै ओलीले फेरि संसद विघटन हुन सक्ने बताएका हुन्। 



‘ताजा जनादेशमा जानु नराम्रो हो र ? अबको डेढ वर्षमा स्थानीय तहको चुनाव हुन्छ। दुई वर्षमा संघ र प्रतिनिधिसभाको हुन्छ,' बैठकमा ओलीको भनाइ उद्धृत गर्दै सुवालले भने, 'त्यस्तो अवस्थामा चुनाव कसरी प्रतिगमन हुन्छ ? सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ।’

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि प्रधानमन्त्रीले ताजा जनादेशमै जानुपर्नेमा जोड दिएको जानकारी दिए। 



'बैठकमा ओलीले ताजा जनादेश लिन चुनावमा जानुपर्ने बताउनुभयो', उनले भने, 'तर ओलीको यो भनाइलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रतिक्रिया दिनु भएन, मौन रहनु भयो।'

नेता केसीले प्रचण्डले समसामयिक राजनीतिक विषयमा कुरा गरेको जानकारी दिए। 'प्रचण्डजीले  समसामयिक विषयमा छलफल गरौँ भन्नुभयो। उहाँको प्रस्तुति नरम, कुरा पनि राम्रै थियो', केसीले अगाडि भने।

अध्यक्ष केसीले आफूले बैठकमा राजनीति पार्टीहरू बसेर छलफल गरेर संसदबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएको बताए। 'दलहरु बसेर समस्याको समाधान गर्नुपर्छ। मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्नु भएन', मैले यही कुरा राखेँ, 'अहिले चुनावमा जाने राष्ट्रको स्थिति नै होइन भन्ने कुरा मसहित सबैको एउटै भावनासहित थियो।'

घोचपेच

बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेर फेरि ताजा जनादेशमा जानुपर्ने बताएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिवादमा उत्रिए। प्रधानमन्त्रीले  पुनःस्थापित प्रतिनिधिसभाका तीनवटा बैठक शोक सभा मनाएर सकिएको भन्दै त्यसले काम गर्न नसक्ने पुष्टि भएकाले निर्वाचनमै जानुपर्ने बताएका थिए।

तर वरिष्ठ नेता पौडेलले संसदलाई जसरी पनि सक्रिय गर्नै पर्ने अडान लिए। ओलीको कुराको प्रतिवादमा उत्रिएका उनले अब संसदलाई सक्रिय बनाउने पहल राष्ट्रपतिले गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले पनि संसदलाई बिजनेस दिएर सक्रिय बनाउन चासो नदिएको गुनासो उनले गरे।

बैठकमा वरिष्ठ पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटन गर्दा राष्ट्रपतिले दलहरूलाई छलफलमा नबोलाएको भन्दै गुनासो गरे।

तर अहिले संसद पुनःस्थापना भइसकेको अवस्थामा छलफलका लागि बोलाउनु उपयुक्त नहुने भन्दै उनीहरुले आलोचना गरेका थिए।

सरकारले संसदमा अध्यादेश पेश गर्न खोज्दा अवरोध हुँदै आएको छ। त्यहीकारण तीनवटा बैठक नै शोक प्रस्ताव पास गर्दै केही मिनेटमा सकिने गरेको छ। 

राष्ट्रपतिले के भनिन् ? 

राष्ट्रपति भण्डारीले सबै दलहरु एक पटक मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताइन्। भण्डारीले अहिलेको समस्याको निकास संवादबाटै निकाल्न पनि आग्रह गरेकी छन्। 

‘हाम्रो मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनु जरुरी छ’, उनले बैठकमा भनिन्। 

नेपालको राजनीतिक नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार देखाउँदै आएको उनको तर्क थियो। ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ’, उनले दलहरूलाई बैठकमा भनिन्, ‘यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ।’

राष्ट्रपतिले भारतबाट अतिक्रमित भूमिको नक्सा प्रकाशनमा जस्तै एकताको आवश्यकता अहिले पनि रहेको कुरामा जोड दिएकी छन्। 

‘नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेकी थिएँ’, उनले भनिन्, ‘सबै दलका नेताहरूप्रति त्यसका लागि आभार व्यक्त गर्दछु।’

उनले कोभिड–१९ को महामारी र त्यसको प्रभावबारे पनि दलहरूलाई कुरा राखेकी छन्। ‘कोभिड–१९ को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावबारे हामी सबै जानकार छौँ’, उनले अगाडि भनिन्, ‘यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदान ठूलो छ। सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले सरकारको अभियानमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिन्छु।’

राष्ट्रपतिले शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तन जस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई आग्रह गरेकी छन्। 

बहिष्कार 

राष्ट्रपतिले डाकेको यो बैठकमा सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी भएनन्। उनीहरुले भोलि र पर्सि हुन लागेको राष्ट्रिय भेलाको तयारीमा जुट्नु परेको भन्दै सर्वदलीय बैठक बहिष्कार गरेका हुन्। 

उनीहरु दुवैजना पूर्वप्रधानमन्त्री पनि हुन्। यो बैठकमा जसपा नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सहभागिता जनाएका छैनन्।

नेपाल-खनाल र भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी बचाउने प्रयासस्वरुप राष्ट्रपतिले सर्वदलीय बैठक गरेको आरोप लगाएका छन्। ओलीलाई अफ्ठेरो पर्दामा मात्रै बैठक डाकेर राष्ट्रपतिले बचाउ प्रयास गरेको आरोप उनीहरुको छ। 

भ्रमण

राष्ट्रपति भण्डारीले आगामी चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणमा जाने बारे जानकारी गराउन सर्वदलीय बैठक आव्हान गरेकी हुन्। तर भ्रमणभन्दा बढी राजनीतिक विषयले समय खाएको थियो।

बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीको अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी चैत ९ गते त्यसतर्फ जाँदैछिन्। 

  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार २१:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया