कोरोना त्रास घटेसँगै बढ्न थाले विदेशी पर्यटक
विस्तारै पर्यटन क्षेत्र ब्यूँतिने आशा

कोरोना महामारीको त्रास घट्दै गएपछि नेपालमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्न थालेको छ। 

विश्वभर फैलिएको कोरोना भाइरसका संक्रमणलाई मध्यनजर गरेर नेपालसहितका विभिन्न मुलुकमा गरिएको लकडाउन (बन्दाबन्दी) का कारण २०७६ गत चैतदेखि विदेशी पर्यटक आगमन ठप्प जस्तै थियो। तर, कोरोना त्रासकै बीच सरकारले गत कात्तिक १ गतेदेखि पर्यटन आगमन खुला गरेपछि नेपालमा विदेशी पर्यटक आउन थालेका हुन्।

पछिल्ला महिनामा विदेशी पर्यटक आगमन बढ्दै गएको छ। सरकारले पर्यटन आगमन खुला गरेपछि अक्टोबर महिनामा मात्रै २ हजार २५ जना विदेशी पर्यटक नेपाल आएका थिए। त्यसपछि नोभेम्बरमा थोरै संख्याले घटेर १ हजार ९५३ जना आए पनि त्यसपछि भने बढ्दै गएका हुन्। 

डिसेम्बरमा ४ हजार २४५ जना आएकोमा २०२१ जनवरीमा ८ हजार ८७४ जना विदेशी पर्यटक आएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। यस्तै फेब्रुअरी महिनामा भने ९ हजार १ सय ४६ जना पर्यटक विभिन्न मुलुकबाट नेपाल आएका छन्। 

यस वर्षको फेब्रुअरीमा नेपाल आएका विदेशी पर्यटकको संख्या गतवर्षको सोही अवधिको भन्दा अत्यधिक कम हो। २०२० फेब्रुअरीमा ७३ हजार ८७१ जना विदेशी पर्यटक नेपाल आएका पर्यटन बोर्डको तथ्यांकमा उल्लेख रहेको छ। तर, कोरोना कहरकै बीच अहिले भएको पर्यटक आगमनलाई महत्वका साथ हेरिएको बोर्डले बताएको छ। 

सामान्य अवस्थामा मासिक ८० हजारदेखि १ लाखसम्म विदेशी पर्यटक आउने नेपाल गर्छन्। समग्रमा कोरोना महामारीका कारण नेपालमा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको थियो। तर, अब पर्यटक आउन थालेपछि क्षेत्र विस्तारै पुनरुत्थान हुने अपेक्षा गरिएको छ।



नेपाल पर्यटक बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाले पछिल्ला महिनामा विदेशी पर्यटक बढेको बताइन्। कोरोना महामारी सामान्य हुँदै गएपछि बाह्य पर्यटकको आगमन बढ्न थालेको उनको भनाइ छ। 

‘पछिल्लो समय विभिन्न मुलुकमा कोरोना खोप लगाउन पनि शुरु भइसकेको छ। नेपालमा पनि खोप लगाउने क्रम जारी छ। मास्क, सेनिटाइजर प्रयोगसहित स्वास्थ्य सुरक्षा अपनाएर कोरोनाबाट बच्न सकिन्छ,’ उनले भनिन्, ‘यस्ता कारणले पनि पछिल्लो समय विदेशी पर्यटक बढेका छन्।’ 



पछिल्लो समय विदेशी पर्यटन व्यवसायी एजेन्सीहरूले नेपालका पर्यटन गन्तव्यको प्रचार-प्रसार गरेकाले यसमा टेवा पुगेको उनले बताएकी छन्।

  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार १६:५१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया