सत्यमोहन जोशीसहित ३ जना श्रष्टालाई सम्मान गर्दै कर्णाली साहित्य समाज

कर्णाली साहित्य समाजले ३ जना श्रष्टालाई सम्मान गर्ने भएको छ । समाजले लोक संस्कृति तथा साहित्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई कृति, साधना र प्रतिभा पुरस्कार वितरण गर्न लागेको हो । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै समाजले चैत्र ११ गते पुरस्कार वितरण गर्न लागेको जानकारी दिएको छ । 

जसमा २५ हजार राशिको साधना पुरस्कारतर्फ लोकसंस्कृतिका लेखक संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीलाई सम्मान प्रदान गर्न लागिएको छ । उनलाई कर्णाली साहित्य साधना सम्मान (ताम्रपत्रसहित) सम्मान गर्न लागिएको हो । शताब्दीपुरुष जोशी नेपालमा तीनपटक मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व हुन् । सोही राशिकै प्रतिभा पुरस्कार वरिष्ठ लोकसाधक प्रेमदेव गिरीलाई प्रदान गर्न लागिएको हो । 

५० हजार राशिको कृति पुरस्कारतर्फ ०७६ सालमा प्रकाशित कृतिमध्येबाट छनोट गरी ललित विष्टकृत कथासंग्रह ‘मोहपथ’लाई प्रदान गर्न लागिएको साहित्य समाजले जानकारी दिएको छ । कर्णाली साहित्य समाजले गत वर्ष स्थापना गरेको उक्त पुरस्कार कर्णालीमै संस्थागत रुपमा स्थापना गरिएको अहिलेसम्मकै ठूलो राशिको पुरस्कार हो । गत वर्ष कृति पुरस्कार महेश थापाको ‘मरीचिका’ कथासंग्रह, प्रतिभा पुरस्कारतर्फ बुद्धिसागर र साधन सम्मान (ताम्रपत्रसहित) कवि श्यामललाई प्रदान गरिएको थियो । 

सत्यमोहन जोशीले कर्णालीलाई चिनाउनका लागि दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागेको कर्णाली साहित्य समाजका सचिव सरस्वती पन्तले बताइन् । साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारीले कर्णाली साहित्य समाजले कर्णाली चिनाउँदै नेपालभर भाषा, साहित्यको विकास, संरक्षण र संवर्द्धन साथै साहित्य श्रीवृद्धि गर्ने लक्ष्य लिएको बताए । 





  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार १७:३२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया