नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री ओलीलाई आफ्नो कमजोरी ढाकछोप गरेर धम्की नदिन चेतावनी दिएकी छ। पुन:स्थापित प्रतिनिधिसभाको चौथो बैठकमा शुक्रबार बोल्दै सांसद भुसालले प्रधानमन्त्रीले नौटंकी प्रदर्शन गरेको आरोप पनि लगाइन्।
'प्रतिनिधिसभा विघटन भइसकेपछि प्रधानमन्त्रीले नौटंकी सभा र प्रदर्शन गरे', उनले भनिन्, 'हुँदा हुँदैको संसद विघटन गरेर, सग्लो पार्टीसमेत फुटाएर दुईतिहाइको धाकधम्की नदिनू, आफ्नो लाज छोप्ने कोसिस नगर्नू।'
प्रधानमन्त्रीले लोकतान्त्रिक आन्दोलनका लागि योगदान दिए पनि अहिले जीवनकै ठूलो भूल गरेको बताइन्। 'होला प्रधानमन्त्रीले हिजो लोकतन्त्र ल्याउन योगदान दिनु भयो। तर अहिले आएर उहाँले जीवनमा सबैभन्दा ठूलो भूल अहिले गर्नुभयो', उनले भनिन्, 'प्रधानमन्त्रीज्यू ! अलि अलि मान्छेको आलोचन सुन्नुस, आत्मसमीक्षा गर्नुस्। सग्लो पार्टी फुटाएर बकम्फुसे कुरा गरेर दुईतिहाइ ल्याउँछु भनेर नहिँड्नुस्।'
उनले ओलीलाई अलिक जिम्मेवार बन्न भनिन्। 'अलिक जिम्मेवार बन्ने कुरा सिक्नुस्। आफू कहाँ हुन्छु भन्ने होइन देश कहाँ हुन्छ भन्ने तिर लागौँ', उनले भनिन्, 'देशको आर्थिक वृद्धिदर माइनस २ प्रतिशत छ, सक्छ भने सरकारले आर्थिक श्वेतपत्र ल्याउनु आवश्यक छ। माइनस २ मा गएको आर्थिक वृद्धिलाई कसरी बढाउने? यहीँबाट खोजौँ समाधान।'
उनले प्रधानमन्त्रीले नैतिक जिम्मा लिए समाधान हुने बताइन्। 'प्रधानमन्त्रीले नैतिक जिम्मा लिऊँ, राजनीतिक दलबाटै हल खोजौँ, देशलाई अगाडि बढौँ', उनले भनिन्, 'सरकारकै कारण संसद पनि रोकिएको छ। सरकारले एजेण्डा दिँदैन कार्यव्यवस्था समितिमा अनि सभामुखलाई गाली गर्दै हिँड्ने?'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।